Kathmandu Press

भारतमा बाघको संख्या करिब तीन हजार पुग्यो

नयाँ दिल्ली, साउन १४ : भारतमा गएको चार वर्षमा बाघको संख्या ३० प्रतिशतभन्दा धेरै वृद्धि भएको छ। सोमबार सार्वजनिक भएको नयाँ तथ्याङ्कले लोपोन्मुख प्....

भारतमा बाघको संख्या करिब तीन हजार पुग्यो
फाइल

नयाँ दिल्ली, साउन १४ : भारतमा गएको चार वर्षमा बाघको संख्या ३० प्रतिशतभन्दा धेरै वृद्धि भएको छ। सोमबार सार्वजनिक भएको नयाँ तथ्याङ्कले लोपोन्मुख प्रजातिको संरक्षणमा आशा पलाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ऐतिहासिक उपलब्धि बताएका छन्। नयाँ तथ्याङ्क अनुसार देशमा दुई हजार ९ सय ६७ बाघ भेटिएका छन्। चार वर्षअघि उनीहरूको संख्या दुई हजार दुई सय २६ थियो।

“बाघको संरक्षणमा हामी प्रतिबद्ध छौं,” नयाँ तथ्याङ्क सार्वजनिक गर्दै मोदीले भने, “करिब १५ वर्षअघि, बाघको घट्दो संख्यालाई लिएर गहिरो चिन्ता थियो। यो हाम्रो लागि ठूलो चुनौती थियो तर दृढताका साथ हामीले लक्ष्य पूरा गरेका छौं।”

पछिल्लो तथ्याङ्कको शीर्षक “अल इन्डिया टाइगर एस्टिमेसन रिपोर्ट २०१८” राखिएको छ। यस्तो सर्वेक्षण प्रत्यक चार वर्षमा गरिन्छ। पन्ध्र महिनासम्म गरिएको सर्वेक्षणमा २६ हार क्यामेरा ट्रयाप प्रयोग गरिएको थियो। ती क्यामेराले भारतमा बाघको करिब साढे तीन लाख बासस्थानको तस्वीर खिचेको वातावरणमन्त्री प्रकाश जावडेकरले बताए। 

प्रत्येक बाघको पहिचान गर्न खिचिएका तस्वीरलाई कम्प्युटर प्रोग्रामबाट विश्लेषण गरिएको थियो। वन्यजन्तु तथा वन अधिकारीले तीन लाख ८० हजार वर्गकिलोमिटर क्षेत्रफलमा खोज सम्पन्न गरेका छन्।

सन् १९०० मा पृथ्वीमा एक लाखभन्दा धेरै बाघ भएको अनुमान गरिन्छ। सन् २०१० सम्म आइपुग्दा बाघको संख्या घटेर तीन हजार दुई सय पुगेका छ। त्यो वर्ष बाघ पाइने भारत र १२ अन्य देशले सन् २०२२ सम्म उनीहरूको देशमा पाइने बाघको संख्या दोब्बर पुर्यायउने सहमति गरे।

सन् २००६ मा हालसम्मकै न्यून रहेको बाघ संख्या त्यसयता तीव्र वृद्धि भएको छ। सन् २००२ मा करिब तीन हजार सात सय बाघ भएको अनुमान थियो। यो संख्या पुर्याइउन भने बाँकी नै छ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र हुँदा भारतमा करिब ४० हजार बाघ रहेको विश्वास गरिन्छ। वन्यजन्तुका विशेषज्ञहरूले सरकारले गरेको प्रयासको प्रशंसा गरेका छन्। वृद्धि भएको संख्याले भारतमा बाघको संरक्षणमा नयाँ अध्याय थपेको उनीहरूले बताए।

“मुल्याङ्कनको परिमाण विश्वमै अभूतपूर्व छ,” ग्लोबल टाइगर फोरमका महासचिव राजेश गोपालले भने। एसियाभर नै चोरी तस्करी नियन्त्रण गर्ने प्रयास भइरहेको छ। चोरी शिकार गर्नेहरू बाघको अंगलाई चिनियाँ बजारमा बेच्ने गर्छन्। बासस्थानको अभावले संरक्षणकार्य प्रभावकारी हुन सकेको छैन।

नयाँ दिल्लीले उत्तरपूर्वमा हिमालयको फेदिदेखि पश्चिम र मध्यभारतसम्म ५० वटा बासस्थान सुरक्षित राख्ने भएको छ। बढ्दो जनसंख्याले वन्यजन्तुको बासस्थान अतिक्रमण भइरहेको छ। यसले मानव र वन्यजन्तुको द्वन्द्व बढाइरहेको छ।

सरकारी तथ्याङ्क अनुसार भारतमा यो वर्ष ६० भन्दा धेरै बाघ मारिएका वा मरेका छन्। अघिल्लो सातामात्रै एक व्यक्तिको हत्या र आठ अन्यलाई घाइते बनाउने बघिनीलाई आक्रोशित भीडले मारेको छ। अघिल्लो महिना बाघले मारेको गाइको सिनोमा गाउँलेले विष लगाए। त्यसैले एउटा बघिनी र दुई डमरूको प्राण गयो। सरकारले जनाएअनुसार बाघले पोहोर करिब ३० जनाको ज्यान लिएको छ। 

बाघसँग हुने मुठभेडबारे मानिसलाई शिक्षित र सचेत बनाउन गाउँमा मात्रै नभएर सरकारी निकाय व्यापी धेरै काम गर्न सकिने विशेषज्ञहरूले बताएका छन्।

“बाघ मरेको कोही पनि हेर्न चाहँदैन। बाघको आक्रमणबाट स्थानीय व्यक्तिको ज्यान गएको कोही हेर्न चाहँदैन,” विश्व वन्यजन्तु कोषका दिपाङ्कर घोषले भने।
 

प्रकाशित मिति: १७:४७ बजे, मंगलबार, साउन १४, २०७६