लागूऔषधसहित पक्राउ ९ जना पक्राउ
काठमाडौं, असोज ७ : काठमाडौं, बारा, कपिलवस्तु, पर्सा र मोरङबाट लागूऔषधसहित पक्राउ ९ जना पक्राउ परेका छन्।काठमाडौं महानगरपालिका–९ शम्भु मार्गबाट ४ ग्राम ५ सय...
काठमाडौं, असोज ७ : काठमाडौं, बारा, कपिलवस्तु, पर्सा र मोरङबाट लागूऔषधसहित पक्राउ ९ जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–९ शम्भु मार्गबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका–९ बस्ने सुनसरी इटहरी उपमहानगरपालिका–५ घर भएका ३० वर्षीय पंकज शिवाकोटीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
सोही महानरगपालिका–९ शम्भु मार्गमा रहेको होटेल ओम प्लाजामा लागूऔषध खैरो हेरोइन बिक्री वितरण भइरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई उक्त खैरो हेरोइन सहित पक्राउ गरेको हो।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० छातापिपराबाट ३ किलो अवैध लागूऔषध गाँजा सहित रौतहट देवाही गोनाही नगरपालिका–७ बस्ने २२ वर्षीय विक्रम यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
साइकलमा सवार उनलाई ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
कपिलवस्तुको वाणगंगा नगरपालिका–१ जितपुरचोकस्थित हरि पाण्डेको पाण्डे स्विट कर्नरबाट करिब १२ ग्राम ९३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा शिवसतासी नगरपालिका–११ बस्ने ४० वर्षीय सलिम थापा मगर र मोरङ कर्तिपुर गाउँपालिका–३ बस्ने १९ वर्षीय विनोद लामा रहेका छन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा थापा मगरको साथबाट करिब ४ ग्राम ५९ मिलिग्राम र लामाको साथबाट करिब ८ ग्राम ३४ मिलिग्राम उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो।
पर्साको वीरगंज महानगरपालिका–१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको विनपिरेक्स सिरफ १ सय २० बोतल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा बर्दिया गुलरिया घर भई हाल चितवन भरतपुर महानगरपालिका–२२ बस्ने २२ वर्षीय राजेश थारु र चितवन भरतपुर महानगरपालिका–७ बस्ने ३२ वर्षीय सुरेश नेपाली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उनीहरुले बोकेको दुईवटा मिठाइको डब्बाभित्र लुकाइ ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकबाट ३ ग्राम ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरतपालिका–२ बस्ने २३ वर्षीय सुरज पासवान र कन्चनपुर भिमदत्त नगरपालिका–१६ बस्ने २१ वर्षीय लक्ष्मण बिष्ट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध ब्यूरो वीरगंजबाट खटिएको संयुक्त प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
उनीहरु उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रित लागूऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित सुनसरी ईटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय सुशिल श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।












