Kathmandu Press

‘महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी जरुरी’

‘महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी जरुरी’

ललितपुर, असोज ६ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले महामारी तथा प्राकृतिक प्रकोप व्यवस्थापनमा पूर्वतयारी रहनु अति नै जरुरी रहेको बताएका छन्। 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले विज्ञान दिवस सप्ताहको उपलक्ष्यमा बुधबार यहाँ आयोजना गरेको ‘महामारी र प्राकृतिक प्रकोप व्यवस्थापनमा विज्ञान प्रविधिको भूमिका’ विषयक कार्यक्रममा उनले भावी दिनमा आउने जोखिम न्यूनीकरणमा निकै सहयोग गर्ने बताए।

उनले भने, ‘मुलुकले यी क्षेत्रमा अझै उचित ज्ञान सीपको प्रयोग गर्न नसक्दा त्यसतर्फ ध्यान दिनुपर्नेछ।’ 

Hardik ivf

सो समस्या समाधानका लागि नाष्टले अन्य वैज्ञानिकका साथै प्रविधिको समेत खोजी गर्न जरुरी रहेको आचार्यले औंल्याए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले विदेशी वैज्ञानिकको मुख ताक्ने क्रम तोडेर अब स्वदेशी वैज्ञानिकले नै केही गरेर देखाउने समय आएको धारणा राखे।

उनले भने, ‘महामारी र प्राकृतिक प्रकोप व्यवस्थापनमा विज्ञानलाई नै हतियारका रुपमा लिएर अघि बढ्नुपर्नेछ।’

नाष्टका प्राज्ञ प्रा.डा. विशालनाथ उप्रेतीले मुलुकवासीको जीउज्यानको सुरक्षाका लागि नाष्टका साथै सम्बन्धित विश्वविद्यालयले प्रविधिको व्यवस्था गर्न आवश्यक रहेको विचार व्यक्त गरे। उनले भने, ‘महामारी र प्राकृतिक प्रकोप व्यवस्थापनका लागि हरेक स्थानीय निकायमा मौसम विज्ञान स्टेसन राख्नाका साथै नाष्टमा धेरै वैज्ञानिकको सङ्ख्या बढाउन जरुरी देखिन्छ।’

प्राज्ञ प्रा.डा. रमेशकान्त अधिकारीले आपत्कालीन पूर्वानुमान निगरानी व्यवस्थाका लागि वैज्ञानिकको एक समूह गठन गर्न आवश्यक रहेको बताए। सहप्राज्ञ रञ्जन दाहालले महामारी र प्रकोप व्यवस्थापनको क्षेत्रमा विगतमा भएका गल्तीलाई सच्याउँदै अघि बढ्न जरुरी भएको सुझाव दिए। उनले भने, ‘हामीले स्थानीय प्रविधिको प्रयोग गरी आउँदा जोखिमको समाधान गर्नुपर्नेछ।’ 

मुख्य वैज्ञानिक डा कान्ति श्रेष्ठले आउँदा महामारीबाट जोगिन ओमेगा थ्री प्राप्त खानेकुराका साथै नेपाली भान्छामा प्रयोग हुने वस्तुलाई जोड दिँदै जान अनुरोध गरे।

वरिष्ठ वैज्ञानिक डा. रामचन्द्र पौडेलले महामारी र प्राकृतिक प्रकोप व्यवस्थापनमा अध्ययन अनुसन्धानका साथै आवश्यक प्रयोगशालको पनि व्यवस्था हुनुपर्नेमा जोड दिए। 

प्रविधि सङ्काय प्रमुख डा. रवीन्द्रप्रसाद ढकालले फोहर सामग्रीलाई आफूहरुले बायोचारमा प्रयोग गर्नाका साथै साना जलविद्युत्का क्षेत्रमा भएका अवसरबारे अध्ययनका साथै अनुसन्धानसमेत गरिरहेको बताए।

उनले भने, ‘हामीले माटो ऊर्जालाई कसरी ग्रिडमा जोड्ने भन्नेतर्फ ध्यान दिइरहेका छौं भने पहिरो नियन्त्रणका लागि दरार र आगलागीबाट जोगाउन छत सिलको काम भइरहेको छ।’ 

मुलुकको उच्च हिमाली भागमा माइक्रो प्लास्टिक भेटिँदा हामीले पिउने पानी र हावामा समेत सोको असर रहेकाले विचार पु¥याउन जरुरी रहेको ढकालले जानकारी गराए।

उपकुलपति डा सुनिलबाबु श्रेष्ठले सो क्षेत्रमा जोखिम संवेदनशील योजना निर्माण गर्न जरुरी रहनाका साथै जलवायु परिवर्तन खाकासमेत तयार गर्न आवश्यक रहेको औँल्याए।

उनले यी वस्तु व्यवस्थापनमा तथ्याङ्क सदुपयोग गरेर राख्न आवश्यक हुनाका साथै प्रविधिको युगमा सूचनाका साथै सञ्चारलाई समेत जोड्दै जाँदा समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए।

प्रकाशित मिति: १४:४३ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्