Kathmandu Press

दरबारमार्ग र न्यूरोड क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ६० लाख रूपैयाँ! 

काठमाडौं, साउन १३ : सरकारले काठमाडौंको न्यूरोड र दरबारमार्गको जग्गाको मूल्य निर्धारण गरेको छ।

मालपोत कार्यालय डिल्लीबजारले दरबारमार्ग र....

दरबारमार्ग र न्यूरोड क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ६० लाख रूपैयाँ! 
फाइल

काठमाडौं, साउन १३ : सरकारले काठमाडौंको न्यूरोड र दरबारमार्गको जग्गाको मूल्य निर्धारण गरेको छ।

मालपोत कार्यालय डिल्लीबजारले दरबारमार्ग र न्यूरोडको जग्गाको सरकारी मूल्य आनाको ६० लाख रुपैयाँ तोकेको हो। साउन १ देखि लागू हुनेगरी डिल्लीबजार कार्यालयले सार्वजनिक गरेको जग्गाको मूल्य गत वर्ष तुलनामा प्रतिआना १० लाख रुपैयाँ बढी हो।

 गत वर्ष सरकारी मूल्य आनाको ५० लाख रुपैयाँ तोकिएको थियो। 

कार्यालयले ठमेल, दरबारमार्ग, न्यूरोड, हनुमानढोकालगायत क्षेत्रको जग्गाको मूल्य ६० लाख तोकेको हो। तर, ती क्षेत्रको सरकारी मूल्य ६० लाख रुपैयाँ तोकिएपनि करोडौं रुपैयाँमा कारोबार हुने गरेको छ।

सरकारी मूल्यांकन अनुसार हनुमानढोका, नयाँ सडक, पुरानो नगरपालिका भवन, दक्षिण चोकबाट जुद्द शम्शेर सालिक चोक, न्यूरोड पिपलबोट, खिचापोखरी धरहराको मुलसडकमा जोडिएका जग्गाको न्यूनतम मूल्यांकन आनाको ६० लाख रुपैयाँ तोकिएको हो। 

केशरमहल, जमल, सिंहदबार, हात्तिसार रानीपोखरी, वीर अस्पताल क्षेत्रमा ६० लाख रुपैयाँ तोकिएको छ। माइतीघर, पुरानो बसपार्क क्षेत्र, पुतलीसडक क्षेत्रमा पनि जग्गाको मूल्य ६० लाख रुपैयाँ तोकिएको छ। 

न्यूरोड तथा दरबारमार्गमा सरकारले तोकेको भन्दा दश गुणासम्म जग्गाको मूल्य बढी तिर्नुपर्ने हुन्छ। सरकारले दरबारमार्ग, न्यूरोड, ठमेल, पुतलीसडक लगायत क्षेत्रको मूल्य प्रतिआना ६० लाख रुपैयाँ तोकेको भएपनि दरवारमार्गको जग्गा ७ करोड रुपैयाँ प्रतिआनामा विक्री हुने गरेको छ। मालपोत कार्यालयका अनुसार सरकारले तोकेको मूल्यमा कुनै पनि क्षेत्रमा जग्गा पाइँदैन। 

महानगरले हनुमानढोका, न्यूरोड, ठमेल, केशरमहल, जमल, दरबारमार्ग, माइतीघर, त्रिपुरेश्वर, पुतलिसडक, कमलादी, भद्रकाली, रत्नपार्कलगायतका क्षेत्रमा प्रतिआना जग्गाको मूल्य  ६० लाख रुपैयाँ तोकेपनि ४ करोड देखि ९ करोड रुपैयाँसम्ममा कारोबार हुने गरेको तथ्यांक छ।  
 

प्रकाशित मिति: १९:३६ बजे, सोमबार, साउन १३, २०७६