मुक्तिनाथ मन्दिर असोज १० गतेबाट खुल्दै
मुस्ताङ, असोज ६ : मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर पाँच महिनापछि यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।गत वैशाखदेखि मुक्तिनाथमा...
मुस्ताङ, असोज ६ : मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर पाँच महिनापछि यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।
गत वैशाखदेखि मुक्तिनाथमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजामा रोक लगाइएको थियो। कोरोना महामारीका कारण बन्द रहेको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए।
प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले सङ्क्रमणदर न्यून रहेकाले मन्दिर खुला गर्ने निर्णय गरेको हो। असोज १० गतेदेखि मन्दिर सबैका लागि खुला हुने मुक्तिनाथ विकास समितिले जनाएको छ।
बैठकले कोरोना परीक्षण गरेको पिसीआर रिपोर्ट वा एन्टिजेन रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न पाउने व्यवस्था गरेको छ। पिसीआर गरेको सात दिन र एन्टिजेन गरेको ७२ घण्टाभित्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न दिइने निर्णय गरिएको छ।
कोरोना खोप लगाएका व्यक्तिले सहज प्रवेश पाउनेछन्। मुक्तिनाथ झण्डै समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा अवस्थित छ। (रासस)












