Kathmandu Press

घुस्याहा कर्मचारीलाई संरक्षण गरेको प्रमाण ल्याए फाँसीमा झुण्डिन्छु : मन्त्री अर्याल

काठमाडौं, साउन १३ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले घुस खाने कर्मचारीलाई आफ्नो मन्त्रालय र विभागबाट संरक्षण गरेको प....

घुस्याहा कर्मचारीलाई संरक्षण गरेको प्रमाण ल्याए फाँसीमा झुण्डिन्छु : मन्त्री अर्याल

काठमाडौं, साउन १३ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले घुस खाने कर्मचारीलाई आफ्नो मन्त्रालय र विभागबाट संरक्षण गरेको प्रमाण ल्याए फाँसीमा झुण्डिन तयार रहेको बताएकी छिन्।

सोमबार काठमाडौंको साँखुमा आधुनिक सुविधायुक्त मालपोत कार्यालय सेवाको शुभारम्भ गर्दै मन्त्री अर्यालले आफ्नो मन्त्रालय मातहतका सबै निकायमा सुशासन कायम गराउन लागि परेको दाबी गरिन्। उनले कर्मचारीलाई घुस नदिने संकल्प गर्न सेवाग्राहीलाई पनि अपिल गरिन्।

सेवाग्राहीले काम छिटो गर्ने नाममा कर्मचारीलाई घुस्याहा बनाएकाले सुशासन कायम गर्न आफूलाई अप्ठयारो परिरहेको मन्त्री अर्यालको गुनासो छ। मन्त्री अर्यालले घुस नलिन कर्मचारीलाई र नदिन सेवाग्राहीलाई पटक–पटक सचेत गराइन्। नदिए कसैले पनि घुस नलिने र नापी तथा मालपोत कार्यालयमा सुशासन कायम हुने मन्त्री अर्यालको भनाइ  छ।

उनले मालपोत तथा नापी कार्यालयको सेवालाई पारदर्शी बनाउन सरकारले प्रविधिमा जोड दिएको पनि बताइन्। मन्त्री अर्यालले मालपोत तथा नापी कार्यालयमा सबैभन्दा बढी विकृति भित्रिएकाले त्यसलाई अन्त्य गर्न प्रविधिको विकासमा जोड दिनु परेको पनि स्पष्ट पारिन्।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आफूलाई सेवाग्राहीको ठाउँमा राखेर सेवा प्रवाहको कामलाई अघि बढाउन मातहतका कर्मचारीहरुलाई सचेत गराए। उनले कानून तथा पूर्वाधारको अभावमा केही समस्या भएपनि विस्तारै सेवाग्राहीहरुको सेवा प्रभावको कामलाई प्रभावकारी बनाउन सरकार लागि परेको पनि बताए।

साँखु मालपोत कार्यालयको सेवालाई सहज बनाउन सरकारले इन्टरनेट सेवाको पनि शुभारम्भ गरेको हो। यसअघि सरकारले काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयलाई पनि प्रविधिले युक्त नमूना  मालपोत कार्यालयको रुपमा घोषणा गरेको थियो। 
 

प्रकाशित मिति: १७:४८ बजे, सोमबार, साउन १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्