स्कुल विभागको नेतृत्वबारे कुरा मिलेन, सचिवालय बैठक स्थगित
काठमाडौं, साउन १३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा स्कुल विभाग तत्कालीन एमाले वा माओवादी केन्द्र कसले राख्ने भन्ने विषयमा स....
काठमाडौं, साउन १३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा स्कुल विभाग तत्कालीन एमाले वा माओवादी केन्द्र कसले राख्ने भन्ने विषयमा सहमति जुट्न सकेन।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा तत्कालीन एमाले र माओवादी केन्द्र दुबैले अडान नछोडेपछि स्कुल विभागबारे सहमति हुन नसकेको हो। सहमति हुन नसकेपछि सचिवालय बैठक साउन २८ गते बस्ने गरी स्थगित भएको छ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सचिवालयको अर्को बैठक साउन २८ गते बस्ने गरी सकिएको जानकारी दिए।
पार्टीका अन्य विभागमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच बाँडफाँड भएपनि स्कुल विभागको नेतृत्वबारे सहमति जुट्न सकेको छैन।
स्कुल विभागको नेतृत्वका लागि तत्कालीन एमालेका महासचिव रहेका इश्वर पोखरेल र उपमहासचिव घनश्याम भुसालले दाबी गरिरहेका छन् भने पूर्व माओवादी केन्द्रका नेता एवं प्रवक्ता श्रेष्ठले दाबी गरिरहेका छन्।
दुबैतिरका नेताहरुले दाबी नछोडेपछि स्कुल विभागको नेतृत्व कसलाई दिने भन्नेबारे सचिवालय बैठकले निर्णय गर्न सकेको छैन।






