करेन्ट लागेर दुईजनाको मृत्यु

काठमाडौं, असोज ४ : काठमाडौं र धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ रुद्रेश्वरमा ढल खन्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका(४ पासिकोट बस्ने नुवाकोट घर भएका ४० वर्षीय प्रबिन तामाङको आइतबार साँझ मृत्यु भएको छ।
ढलान फुटाउने मेसिनबाट करेन्ट लागि गम्भीर घाईते भएका उनको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो।
धनुषाको कमला नगरपालिका–३ मालपट्टीस्थित सडकमा धानको भुस राखी ल्याउँदै गरेको बा३ख ९६९८ नम्बरको ट्रकलाई विद्युतको तार लौरोले पन्छाउँदै अघि बढाउँने क्रममा आइतबार दिउँसो करेन्ट लागेर महोत्तरी सोनवा गाउँपालिका–५ खैरवनी बस्ने ३० वर्षीय शत्रुधन यादवको मृत्यु भएको छ।
करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरी चौकी माचीबाट खटीएको प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।












