लोकसेवाले नतिजा ननिकालेको भन्दै धर्नामा परीक्षार्थी
काठमाडौं, असोज ४ : लोकसेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको भन्दै परीक्षार्थीहरूले धर्ना दिएका छन्।उनीहरूले आज (सोमबार) अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालयको मूल...
काठमाडौं, असोज ४ : लोकसेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको भन्दै परीक्षार्थीहरूले धर्ना दिएका छन्।
उनीहरूले आज (सोमबार) अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालयको मूल गेटअघि र माइतीघर मण्डलामा ‘लोक सेवामाथि विश्वास गर्ने दिन सकिएको हो?’, ‘बन्द खामभित्रको हाम्रो भविष्य खुला गर’, ‘परीक्षा लिन सक्ने, नतिजा दिन नसक्ने ?’ लगायत प्लेकार्ड बोकेर धर्ना दिएका हुन्।
अधिकृत पदको लिखित परीक्षा तथा अन्तर्वाता सम्पन्न भएर पनि आयोगले नतिजा प्रकाशन नगरेको विरोधमा प्रदर्शनमा उत्रिएकाहरूले आफ्ना माग पूरा नभए सम्म धर्नामा बस्ने बताएका छन्।
भदौ ८ गते उनीहरूको अन्तरवार्ता भइसके पनि अहिलेसम्म नतिजा प्रकाशन भएको छैन।
२०७६ मंसिर २५ मा प्रकाशन भएको अधिकृतको विज्ञापनअन्तर्गत २०७८ भदौ ८ मा सबै चरणका परीक्षा सम्पन्न भई अन्तिम नतिजा नआउँदा परीक्षार्थीहरू अप्ठेरोमा परेका छन्।
विज्ञापन आह्वानपछि ३४ अधिकृतले सरकारले दरबन्दी लुकाएर तल्लो तहमा समायोजन गरेको भन्दै सर्वोच्चलाई गुहारे।
सर्वोच्चले साउन २५ मा समायोजन भएर गएका कर्मचारीकै पक्षमा पक्षमा अन्तरिम आदेश दियो। सोही आदेशले ३४ जनाको कोटा कटाएर संघमा समायोजन गर्न पनि भनेको थियो।
फेरि भदौ २५ गते सर्वोच्चले साउन २५ को आदेश कार्यान्वयनलाई यथास्थितिमा राख्न अन्तरिम आदेश दियो। सो आदेशसँगै कोटा काटेर गर्न लागिएको नतिजा प्रकाशन पनि रोकिएपछि परीक्षा दिएर नतिजाको पर्खाइमा रहेकाहरू आन्दोलित भएका हुन्।












