इन्द्रदहमा बिहानैदेखि भक्तजनको भीड
काठमाडौं, असोज ४ : भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका–१ मा रहेको इन्द्रदहमा मेला लागेको छ। भाद्र शुक्ल चतुर्दशीका दिन...
काठमाडौं, असोज ४ : भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका–१ मा रहेको इन्द्रदहमा मेला लागेको छ।
भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्रदहमा जाग्राम बस्न जाने परम्परा छ। यो परम्परानुसार आइतबार राति नै भक्तजन इन्द्रदह पुगी दिवङ्गत आफन्तका नाममा बत्ती बालेर जाग्राम बसेका थिए।
आइतबार राति दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्रदह परिसरमा रहेको इन्द्रको मन्दिर क्षेत्रमा बत्ती बालेका भक्तजनले बिहानै इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवी–देवताको पूजा आराधना गरेका छन्। चन्द्रागिरि–१ मा पर्ने यो धार्मिकस्थलमा प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाखौँ भक्तजन पुग्ने गरेका छन्।
गत वर्ष कोरोना महामारीका लागि मेला स्थगन गरिएकामा यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिइएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए। मेलाका लागि विसं २०७६ मा जस्तो प्रचारप्रसार भने नगरिएको उनले सुनाए। आस्थाका आधारमा आउने भक्तजनलाई स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक कर्म गर्न खुला गरिएको छ। भक्तजनका लागि मास्क अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ।
मेलाका अवसरमा नगरपालिका–१, २ र ३ का विद्यालयलगायत कार्यालयमा स्थानीय पर्व बिदा दिइएको पनि उनले जानकारी दिए। दिवङ्गतहरु स्वर्ग पुग्ने भएकाले त्यहाँका राजा इन्द्रको विशेष पूजा आराधना गरिने यो अवसरमा इन्द्रदहमा बत्ती बाल्ने र स्नान गरी पूजा आराधना गरे शान्ति मिल्ने धार्मिक विश्वास छ।












