Kathmandu Press

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा, असोज ४ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका पहिलो भएको हो। 

कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति भएको घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिए । ‘सर्वसम्मत सभापतिमा गणेशजीलाई चयन गरियो,’ उनले भने, ‘विधि र प्रक्रिया बाँकी छ । असोज ९ गते उहाँलाई आधिकारिक सभापति भएको घोषणा गर्छौं ।’

Hardik ivf

सो गाउँपालिकाको सबै सात वडामा यसअघि सर्वसम्मत वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको छ। आदिवासी मधेशी समुदायको बाहुल्य सो पालिकामा गणेशको नेतृत्वमा गाउँ कार्य समिति नै सर्वसम्मत भएको कांग्र्रेसका क्षेत्रीय सभापतिसमेत रहेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए।

गणेशका नेतृत्वमा चयन भएको गाउँ कार्य समितिको उपसभापतिमा सकिचन ठाकुर र सुमन प्याकुरेल, सचिवमा सञ्जय गणेश र प्रताप विश्वकर्मा र सहसचिवमा सफिउल्ला अन्सारी छन् । पार्टीका जिल्ला सभापति थापाले अन्य पालिकाले नेतृत्व चयनका लागि झापा गाउँपालिकाबाट शिक्षा लिनुपर्ने बताए। गाउँ सभापति सर्वसम्मत भएका उनी यसअघि क्षेत्रीय सदस्य रहेका थिए। पालिकामा २५६ क्रियाशील सदस्य छन्। 

जिल्लामा १५ पालिका छन्। अन्य पालिकामा गाउँ तथा नगर सभापतिका लागि हरेक पालिकामा तीनभन्दा बढी आकांक्षीले उम्मेदवारी घोषणा गर्दै मत मागिरहेका छन्। झापा गाउँपालिकामा वडा तहको निर्वाचनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडाका सभापतिको संयुक्त भेलामा गाउँ सभापति पदमा गणेशको एक मात्र नाम आएको थियो। 

‘उहाँ जुझारु, इमान्दार र सबैका प्रिय नेता हुनुहुन्छ,’ गाउँपालिकाका अध्यक्ष साहले सर्वसम्मत चयनका बारेमा भने, ‘सबै क्षेत्रीय प्रतिनिधि र अरु साथीहरुले उहाँलाई सर्वसम्मत सभापति बनाउने विषयमा निर्णय नै गरिसक्नुभयो ।’ पार्टीको निर्वाचन कार्यतालिका अनुसार नगर तथा गाउँको अधिवेशन यही असोज ९ गते हुँदैछ। झापा गाउँपालिकाको सभापतिसहित कार्य समितिका सबै पदमा सर्वसम्मत उम्मेदवारी दर्ता गरेर निर्विरोध निर्वाचित गराउने स्थानीय पार्टी कार्यकर्ताको सहमति भएको छ।

सर्वसम्मत गाउँ सभापति चयन भएका गणेशले २०४६ सालदेखि पार्टीमा क्रियाशील भएको र २०४८ सालमा क्रियाशील सदस्यता पाएको बताए। उनले आफू कुनै गुटमा नलागेको जनाउँदै आम कार्यकर्ताले सर्वसम्मत गाउँ कार्य समिति चयन गरेर पार्टी एकढिक्का भएर सहमतिमा अघि बढेको सन्देश दिन चाहेको बताए। झापा गाउँपालिकाबाट उत्साहित जिल्लास्तरीय नेताहरु अन्य नगर तथा गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्न सकिन्छ कि भनेर दौडधुप गरिरहेका छन्। जिल्लामा १३१ वडामा एक जना पनि महिला सभापति पार्टीले निर्वाचित गराउन सकेन। हालसम्म गाउँ तथा नगरस्तरमा समेत पुरुषले आकांक्षा देखाइरहँदा एकजना महिलाले पनि सभापतिमा दाबी गरेको देखिँदैन। 
 

प्रकाशित मिति: ०९:४४ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्