बाघको संख्या यसरी पुग्दैछ नेपालमा दोब्बर
काठमाडौं, साउन १३ : आज देशभर बाघ दिवस मनाइँदै छ। बाघ पाइने स्थानमा स्थानीय समुदायसँग कार्यक्रम गरिन लागेको बन तथा वातावरण मन्त्रालयले जनाएको छ।
....
काठमाडौं, साउन १३ : आज देशभर बाघ दिवस मनाइँदै छ। बाघ पाइने स्थानमा स्थानीय समुदायसँग कार्यक्रम गरिन लागेको बन तथा वातावरण मन्त्रालयले जनाएको छ।
आज स्थानीय बासिन्दासँगको सहभागितामा विभिन्न कार्यक्रम गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताए। बाँके, चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कार्यक्रम गर्न लागिएको हो।
संसारभर पाटेबाघ पाइने १३ देशमध्ये नेपालमा भने बाघको संख्या दोब्बर पुग्न लागेको छ। संसारका तेहैं मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो।
त्यसअनुसार, नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ थियो। त्यसलाई दोब्बरभन्दा पनि बढी दुई सय ५० वयस्क बाघ पु¥याउने प्रतिबद्धता गरेको थियो। जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको प्रवक्ता श्रेष्ठले बताए।
मन्त्रालयले गत वर्ष पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो। जसअनुुसार नेपालमा बाघको सङ्ख्या दुई सय ३५ पुगेको छ।
चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए।
विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरेको थियो।
नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ रहेको विभागको तथ्याङ्क छ।
सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार दुई सय २६, सबैभन्दा कम लाओसमा दुई बाघ भेटिएका थिए। इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यानमा, रसिया र लाओसमा बाघ पाइन्छ। विश्वभर बाघको सङ्ख्या भने तीन हजार आठ सय ९० रहेको छ।
नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार एक सय ६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि (६८ प्रतिशत)मा बाघको उपस्थिति रहेको देखिएको छ।
बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको हो। संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्याङ्कमा उल्लेख छ।
मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल भएकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (दुई सय ५० वयस्क बाघ) पुर्याउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ।

-1784896419.png)









