कांग्रेस बैठक : १४ औं महाधिवेशनको मिति तोकेर अघि बढ्न नेतृत्वमाथि दबाब
काठमाडौं, साउन १२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीको १४ औं महाधिवेशनको मिति निर्धारण गरेर अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन्। ....
काठमाडौं, साउन १२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीको १४ औं महाधिवेशनको मिति निर्धारण गरेर अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन्।
पार्टी कार्यालय सानेपामा केही दिन यता चलिरहेको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश नेताहरुले १४ औं महाधिवेशनको मिति तोकेर अघि बढ्नु पर्ने धारणा राखेका छन्। बैठकमा पेश भएका १४ वटा एजेण्डामध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपूर्ण एजेन्डाका रुपमा छलफल भइरहेको छ।
केही सदस्यहरुले तत्कालका लागि विधानको संक्रमणकालिन व्यवस्था अनुसारको संरचना बनाउने र केही समयपछि महाधिवेशन गर्नु पर्ने पनि बताएका छन्। तर, केहीले भने महाधिवेशन समयमै गर्नु पर्ने तर्क गरेका छन्।
केही नेताहरुले विधानलाई निलम्बित गरेर काम गर्न नसकिने उल्लेख गर्दै विधान विपरीत कुनै पनि विषयमा सहमति र सम्झौता हुन नसक्ने भएकाले महाधिवेशनको समय निर्धारण गरेर कार्यतालिका बनाएर अघि बढ्नु पर्नेमा जोड दिएका छन्।
प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको विधानको धारा ७१ को उपधारा ४ बमोजिम अन्तरिम संरचना बनाएर १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल केन्द्रित भएपनि निष्कर्षमा भने पुगिनसकिएको बताए।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यतालिका अनुसार नै महाधिवेशनको मिति तय गरिनुपर्ने बताइ। उनले संक्रमणकालीन व्यवस्थाको नाममा भर्खरै बनाएको विधानलाई निलम्बित गरेर विधान विपरीत कुनै पनि सहमति सम्झौता गर्न नसकिने बताए।
असार २२ गते देखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक बीचमा रोकिँदै चल्दै आएको छ। बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये नियमावलिको एजेण्डामा केन्द्रीय समितिले सर्वसम्मति परिमार्जन गरेर सहमतिमै टुंग्याने गरी नियमावली मस्यौदा समितिमै फिर्ता पठाइएको छ।
महाधिवेशनको विषय टुंगो लागेपछि बाँकी एजेण्डामा संयुक्त छलफल हुने प्रवक्ता शर्माले बताए।






