Kathmandu Press

स्थानीय तह सवल नभए लोकतन्त्र मजबुत हुँदैन : नेता पोखरेल

महोत्तरी, असोज २ : नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले लोकतन्त्रको सुदृढीकरणका लागि स्थानीय तह सवल र सक्षम हुनपर्ने बताएको छ।...
स्थानीय तह सवल नभए लोकतन्त्र मजबुत हुँदैन : नेता पोखरेल

महोत्तरी, असोज २ : नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले लोकतन्त्रको सुदृढीकरणका लागि स्थानीय तह सवल र सक्षम हुनपर्ने बताएको छ। आज साँझ महोत्तरीको बर्दिवास नगरपालिका कार्यालय प्रयोजनको प्रशासनिक भवनको शिलान्यास गर्दै महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका पोखरेलले सो कुरा बताएका हुन्।

‘लोकतन्त्रको आधारभूत तह भनेकै स्थानीय तह र यस तहका स्थानीय बासिन्दा हुन्,’ पूर्वमन्त्रीसमेत रहेका पोखरेलले भने, ‘त्यसैले स्थानीय तहका बासिन्दा सर्वसाधारणले लोकतन्त्रको साँचो उपभोगको अनुभूति आफ्नै ठाउँबाट गर्न पाउनुपर्छ।’ नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणले आधारभूत तहका जनतासम्म सेवा प्रवाहमा थप सहजता हुने पोखरेलले विश्वास व्यक्त गरे।

Hardik ivf

बर्दिवास नगर कार्यपालिकाको कार्यालय भवन बर्दिवास–१४ मा शिलान्यास गर्दै नेता पोखरेलले विकास निर्माणका कार्यमा सबै दल, सबै समाजका अङ्ग एक हुनुपर्ने औँल्याए। बर्दिवास–१४ मा सार्वजनिक स्वामित्वको ०१–१३–० (एक बिघा १३ कठ्ठा) र दाताहरू रमेश भण्डारी, कुमार भण्डारी, विनोद भण्डारी, गोपीराज पोखरेल, टीकाराज पोखरेल र डाकराज पोखरेलसहितले निःशुल्क उपलब्ध गराएको दुई कठ्ठासहित जम्मा ०१–१५–०० (एक बिघा १५ कठ्ठा) क्षेत्रफलभित्र कार्यालय भवन निर्माणको काम आज प्रारम्भ भएको हो।

खुला बोलपत्र प्रक्रियाबाट एएम–पाइनस ओमनीलकण्ठेश्वर जेभी निर्माण कम्पनीले नौ करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण गर्ने गरी सम्झौता भएपछि शिलान्यास सम्पन्न भएको हो। कार्यालय भवन निर्माण दुई वर्षभित्र सम्पन्न गरिने सम्झौता भएको निर्माण कम्पनीका अध्यक्ष कृष्ण खत्रीले बताए। कार्यालय भवन निर्धारित समयभित्र निर्माण सम्पन्न भएर सेवा प्रवाह आफ्नै भवनबाट थालिने नगरप्रमुख बिदुरकुमार कार्कीले विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २०:३७ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्