अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकलाका लागि आवेदन आह्वान
काठमाडौं, असोज २ : नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताका लागि आवेदन दर्ता गर्न आह्वान गरेको छ।प्रतियोगितामा कक्षा...
काठमाडौं, असोज २ : नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताका लागि आवेदन दर्ता गर्न आह्वान गरेको छ।
प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्ययनरत इच्छुक विद्यार्थीले भाग लिन सक्नेछन्। राष्ट्रिय विज्ञान दिवस (असोज १), विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४–१०) तथा विश्व विज्ञान दिवस (नोभेम्बर १०) को सन्दर्भ पारेर सोसाइटीले सञ्चालन गर्दै आएको विद्यालय तहको प्रतियोगिताका लागि असोज ९ गतेसम्म संस्थाको वेभसाइटमार्फत् आवेदन दर्ता गर्न सकिने अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
दुवै प्रतियोगिताका लागि यो वर्षको शीर्षक ‘अन्तरीक्ष विज्ञानमा महिला’ तय गरिएको उनले सुनाए। इच्छुक विद्यार्थीले यसै शीर्षकमा केन्द्रित रहेर आफ्नो रचना अनलाइन फाराममार्फत सोसाइटीको कार्यालयमा पठाउनु पर्नेछ। यो वर्षबाट वक्तृत्वकलामा विद्यार्थीको रचनात्मक प्रस्तुतिलाई स्थान दिन भिडियो सम्पादन गर्न छुट दिइएको छ।
त्यस्तै चित्रकलाका सम्बन्धमा पनि विद्यार्थीले आफ्नो रचनालाई बढीमा एक मिनटमा व्याख्या गरेको भिडियो बनाएर पठाउनु पर्नेछ। प्राप्त रचनामध्ये उत्कृष्ट रचना सोसाइटीको आधिकारिक युट्युब च्यानलमा जनमतका लागि राखिने जनाइएको छ।
पुरस्कारसम्बन्धी निर्णय गर्दा ५० प्रतिशत जनमत तथा ५० प्रतिशत निर्णायक मण्डलको मूल्याङ्कनलाई आधार बनाइने छ। प्रतियोगितामा आवेदन गरिएका रचना प्रतियोगिता अवधिभर अन्य कुनै स्थानमा सार्वजनिक गर्न पाइने छैन। सार्वजनिक गरेको पाइएमा उक्त रचना प्रतियोगिताबाट हटाइने छ। दुवै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रोत्साहनस्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिने छ।
पाँचौँ राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्नेछन्। प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः आकर्षक पुरस्कार, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
तेस्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले मात्र आवेदन दिन सक्नेछन्। प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो हुने विद्यार्थीलाई पुरस्कारस्वरुप क्रमशः नगद रु १० हजार, रु पाँच हजार तथा रु तीन हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितासम्बन्धी नियम तथा दर्ता प्रक्रियाबारे सम्पूर्ण जानकारीका लागि www.nepalastronomicalsociety.org.spaceweek मा हेर्न सकिने अध्यक्ष भट्टराइले बताए। थप जानकारी चाहिएमा कार्यालयको सम्पर्क नं ९८४३७०८२४८ मा फोन गर्न सकिने उनले जानकारी दिए।










-1783320892.png)

