गण्डकी प्रवेश नाकामा स्वास्थ्य निगरानी केन्द्र
दमौली, असोज २ : गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र स्थापना गरेको छ।आँबुखैरेनी गाउँपालिका–४...
दमौली, असोज २ : गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र स्थापना गरेको छ।
आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा मन्त्रालयले निगरानी केन्द्र स्थापना गरेको हो। निगरानी केन्द्रमा मुग्लिङ पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको नम्बर दर्ता गरिने र स्वास्थ्यको मापदण्ड पालना गरे÷नगरेको परीक्षण गरिने आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिए।
सबै यात्रुलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाइने र केही समस्या भए तत्कालै समाधान पनि गरिने उनले बताए। यसका साथै स्वास्थ्य सम्बन्धी सचेतना प्रदान पनि गरिने भएको छ।
निगरानी केन्द्रमा हेल्थ असिस्टेन्टको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटाइएको छ। निगरानी केन्द्रबाट कोरोनाको मात्र नभई हाल फैलिएको निपा भाइरस, सेतो पुतलीको प्रकोपलगायतका बारेमा यात्रुलाई जानकारी दिने उनले बताए।
गाउँपालिका र मन्त्रालयको सहकार्यमा स्थापना गरिएको निगरानी केन्द्रको शुभारम्भ गर्दै प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारीले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकार गम्भीररुपमा लागिरहेको बताए।
गण्डकी प्रदेशका वासिन्दालाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि निगरानी केन्द्र स्थापना गरिएको मन्त्री अधिकारीले जानकारी दिए












