सर्लाही घटना छानविन गर्न संसदीय समिति नबनाए संसद चल्न दिँदैनौंः यादव
काठमाडौं, साउन १२ : राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजकिशोर यादवले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई वटा घटनाको तत्काल छानविन ....

काठमाडौं, साउन १२ : राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजकिशोर यादवले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई वटा घटनाको तत्काल छानविन गर्न संसदीय समिति बनाउन सरकारलाई आग्रह गरेका छन्।
आइतबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा संयोजक यादवले सर्लाहीमा भएका सो मृत्युको घटनाको छानवीनका लागि संसदीय समिति गठन नगरे भोलि (सोमबार) बस्ने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी समेत दिए।
यादवले सर्लाहीमा भएको दुवै मृत्यु प्रकरण गैरन्यायिक भएकाले आफ्नो पार्टीले संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्दै आएको र त्यसको सुनुवाई नभए सोमबार बस्ने बैठक पनि अवरुद्ध पार्ने निर्णय गरिएको बताए।
नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहको प्रहरीको गोली लागेर मृत्यु भएपछि त्यसको न्यायिक छानवीनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले यसअघि पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका थिए।
संयोजक यादवले गैरन्यायिक ढंगले प्रहरीबाट मारिएका ती दुवै प्रकरणको छानविन गर्न संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने पार्टीको अडान पनि यथावत रहेको बताए।
संयोजक यादवले पार्टीको आसन्न महाधिवेशनको तयारीको कामलाई पनि तीव्रता दिइएको बताए। उनले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालसँग पार्टी एकताका लागि वार्ता प्रक्रियालाई जारी राखिएको पनि बताए।

-1784896419.png)









