Kathmandu Press

रोकिएन मोटरसाइकल चोरी

रोकिएन मोटरसाइकल चोरी

काठमाडौं, असोज १ : प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरेर नियन्त्रण अभियान चलाए पनि मोटरसाइकल चोरी हुने क्रम भने रोकिएको छैन।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक रूपमा नै मोटरसाइकल चोरी भएको निवेदन पर्ने गरेको छ।

कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ गरेर राखिएको ठाउँबाटै मोटरसाइकल चोरी भएका छन्। मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

Hardik ivf

आज मात्रै महाशाखाले काठमाडौंको थलीबाट चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गर्‍यो। 

महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरेर लगिरहेको अवस्थामा वाग्मती प्रदेश ०२–०१५प ६१७२ नम्बरको मोटरसाइकलसहित सिन्धुपाल्चोक पाँचपोखरीका विजय धिताललाई कागेश्वरी–मनहरा नगरपालिका– ५ थलीबाट नियन्त्रणमा लिएको हो। 

खोटाङ घर भई काँडाघारी बस्ने सञ्जिव राईले विहीबार साँझ पार्किङ गरेर राखेको  अबस्थामा लभडाँडाबाट हराएको निवेदनको आधारमा खोजतलास गर्दै जाँदा उक्त मोटरसाईकलसहित धिताल पक्राउ परेका हुन्। 

उनीमाथिको अनुसन्धानका क्रममा सिन्धुपाल्चोक मेलम्ची घर भई साँखु बस्ने वर्ष २६ को जितबहादुर र २४ वर्षे बिष्णु तामाङसमेत भई चोरी गरेको र उनीहरुसँग अर्को चोरीको मोटरसाइकलसमेत रहेको खुल्न आएको थियो। 

खोजी गर्ने क्रममा भदौ १५ गते कोटेश्वरबाट हराएको मोटरससाइकलसमेत बरामद गरिएको छ। तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३–०२–००१प ७२८६ नम्बरको उक्त मोटरसाइकलमा नम्बर परिवर्तन गरी प्रदेश ३–०२–००७ प ८४९४ रहेको अवस्थामा बरामद भएको थियो।

चोरी गर्ने दुवै दाजुभाइ भएको खुल्न आएको छ। पक्राउ परेका तीनै जनालाई थप कारवाहीका लागि महानगरीय प्रहरीवृत्त बानेश्वरमा पठाइएको छ।

यसरी चोरी भएका मोटरसाइकलमध्ये केही प्रतिशत मात्रै फेला पर्ने गरेको छ। आज मात्रै ट्राफिक प्रहरीले फेला पारेका २४ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

महाशाखाका प्रमुख भट्टराईले विशेष सूचना सङ्कलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट ती मोटरसाइकल बरामद गरी चोरीमा संलग्न मानिसलाई समेत पक्राउ गरिएको जानकारी दिए।

उनले सवारी साधनको चोरी न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियान जारी रहेको जानकारी गराउँदै सुरक्षाका उपाय अपनाउन पनि सवारी धनीसँग अनुरोध गरेका छन्।

प्रकाशित मिति: १७:२८ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्