Kathmandu Press

सांसदहरूद्वारा विज्ञापन बोर्ड गठन गर्ने प्रस्तावको विरोध

काठमाडौं, साउन १२ : प्रतिनिधिसभाका सांसदहरुले विज्ञापन बोर्ड गर्ने सरकारको प्रस्ताव संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरित भएको बताउदै विरोध....

सांसदहरूद्वारा विज्ञापन बोर्ड गठन गर्ने प्रस्तावको विरोध
काठमाडौं प्रेस

काठमाडौं, साउन १२ : प्रतिनिधिसभाका सांसदहरुले विज्ञापन बोर्ड गर्ने सरकारको प्रस्ताव संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरित भएको बताउदै विरोध जनाएका छन्।

आज विकास तथा प्रविधि समितिको बैठकमा ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै प्रनिनिधिसभाका सांसदद्वय जिपछिरिङ लामा र कमला रोकाले विज्ञापन बोर्ड गठन गर्ने सरकारको प्रस्ताव समावेशी सिद्धान्त विपरित आएको उल्लेख गर्दै मान्य नहुने अडान राखे।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद लामाले संविधानले समावेशी, समानुपातिक प्रतिनिधिको स्पष्ट व्यवस्था गरेपनि त्यसअनुसार विज्ञापन बोर्ड गर्ने प्रस्ताव सरकारले नल्याएकाले मान्य नहुने अडान बताए।

महिला, जनजाति, दलित, गरिव समूदाय सबैलाई बोर्डमा प्रतिनिधित्व गराउने व्यवस्था त्यसमा नरहेकाले आफ्नो असहमति रहेको सांसद लामाको भनाइ थियो। सांसद लामाले विधेयकमा गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिवलाई सदस्य बनाउने प्रावधान पनि गलत भएको बताए। अनुगमन गर्ने निकायलाई बोर्डमा राख्न नमिल्ने उनको भनाइ छ।

त्यस्तै, सत्तारुढ नेकपा सांसद कमला रोकाले महिला, दलित, जनजाति सबै समुदायको प्रतिनिधित्व नभएकाले सरकारले ल्याएको विज्ञापन बोर्ड गठन गर्ने प्रावधानमा सहमति जनाउन नसकिने बताइन्। उनले बोर्डको अध्यक्षको पनि योग्यता तोक्न सरकारसँग माग गरिन्। सरकारले ल्याएको सो विधेयकमा विज्ञापन बोर्डमा रहने अध्यक्षको योग्यतासम्बन्धी प्रावधान राखिएको छैन।

सांसदहरुले विज्ञापन बोर्डमा महिलाहरुको प्रतिनिधित्व बढाउन पनि सरकारलाई दवाव दिएका छन।

प्रकाशित मिति: १४:२७ बजे, आइतबार, साउन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्