Kathmandu Press

स्कुल विभाग पोखरेल र श्रेष्ठ दुवैलाई नदिई अध्यक्षसँगै राख्ने विकल्प

काठमाडौं, साउन १२ : पार्टी स्कुल विभागमा विवाद भएपछि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सो विभाग अध्यक्षसँगै राख्ने विकल्पमा....

स्कुल विभाग पोखरेल र श्रेष्ठ दुवैलाई नदिई अध्यक्षसँगै राख्ने विकल्प
फाइल फोटो

काठमाडौं, साउन १२ : पार्टी स्कुल विभागमा विवाद भएपछि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सो विभाग अध्यक्षसँगै राख्ने विकल्पमा छलफल गर्ने गरी आज बस्ने भएको छ। सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ दुवैले स्कुल विभाग दाबी गरेपछि एक सातादेखि बैठक अवरुद्ध भएको हो।

पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले स्कुल विभाग पोखरेल र श्रेष्ठ दुवैलाई नदिई आफैँसँग राख्ने गरी निकास निकाल्ने प्रयास गरेका हुन्। यद्यपि, स्कुल विभाग अध्यक्षद्वयसँगै राखेर अघि जाने भन्ने बारे टुंगोमा पुगिनसकेको स्रोतको दाबी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ३ बजेपछि बस्ने भनिए पनि निश्चित छैन । उक्त बैठक भाेलिका लागि सारिएकाे नेकपाले जनाएकाे छ। अब बस्ने बैठकमा पार्टीको केन्द्रीय सचिवालय बैठकमा ३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्जहरुको बारेमा छलफल गर्ने कार्यसूची रहेको छ।  सचिवालयले जिल्ला इञ्चार्जको टुंगो लगाए पनि पोखरेल र श्रेष्ठको दाबीका कारण सचिवालय बैठक नै अवरुद्ध भएको थियो। यसै अवरोधका कारण अन्य विभाग प्रमुखहरु टुंग्याउन सकेको छैन।

सचिवालयको गत साताको बैठकमा नै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलले कुनै पनि विभागीय जिम्मेवारी नलिने यसअघि नै तय भइसकेको छ। त्यस्तै, विदेश विभाग प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल, नीति अनुसन्धान विभाग प्रमुखमा झलनाथ खनाल र संगठन विभाग प्रमुखमा वामदेव गौतम हुने यसअघि नै तय भइसकेको छ।

संगठन विभाग पाएको गौतम आफैंले यसअघि नै घोषणा गरिसकेका छन्। वरिष्ठ नेता खनालले आफूलाई नीति अनुसन्धान विभाग प्रमुख दिइएकाले अब त्यहीँबाट गुटबन्दी अन्त्यका लागि नीति बनाउने पनि आम सञ्चारमाध्यमबाट आफैंले सार्वजनिक गरिसकेका छन्। यद्यपि, स्कुल विभागको विवाद टुंग्याउन नीति अनुसन्धान विभागको साटो स्कुल विभाग आफूलाई दिए स्वागत गर्ने उनले काठमाडौंप्रेससँग यसअघि नै बताइसकेका छन्।

पार्टीका तीनवटा आयोगमध्ये दुईको अध्यक्ष साविक एमाले र एउटा साविक माओवादीले पाउने समझदारी भएको छ। अनुशासन आयोगमा अमृतकुमार बोहोरा र लेखा परीक्षण आयोगमा डा. पुष्प कँडेल र निर्वाचन आयोगमा अमिक शेरचनलाई अध्यक्षको जिम्मेवारी दिने जिल्ला इञ्चार्ज बैठकमै टुंगिइसके पनि घोषणा चाहिँ गरिएको छैन।

यी आयोगका अध्यक्ष पार्टीको पदेन स्थायी कमिटी सदस्य हुन्छन्। त्यसै गरी सल्लाहकार समितिको अध्यक्षमा केशव बडाल र ज्येष्ठ कम्युनिष्ट मञ्चमा नन्दकुमार प्रसाईंलाई संयोजक बनाउने पनि तय भइसकेको छ। औपचारिक घोषणा गर्न मात्र बाँकी छ।

नेकपाको राजधानी विशेष प्रदेश कमिटी गठनका बारेमा पनि गृहकार्य अघि बढाएको छ। आयोग र समितिका संयोजक कसलाई बनाउने भन्ने नामसहितको प्रस्ताव महासचिव विष्णु पौडेलले तयारी गरेका छन्।

काठमाडौंमै रहने मजदुर, युवा विद्यार्थी, पेशागत जिल्ला कमिटीहरूलाई नेतृत्व गर्ने गरी विशेष प्रदेश कमिटी गठन गर्ने तयारी छ। यसको नेतृत्वको पनि टुंगो लागेको छैन।

प्रकाशित मिति: १२:०० बजे, आइतबार, साउन १२, २०७६