बर्थिङ सेन्टरका सामग्री ६ महिनादेखि सदरमुकाममै
जाजरकोट, भदौ ३१ : सातैवटा स्थानीय तहलाई उपलब्ध गराउने भन्दै खरीद गरिएका बर्थिङ सेन्टरमा प्रयोग हुने सामग्री ६ महिनादेखि सदरमुकाममै थन्किएका छन्।स्वास्थ्य सेवा...
जाजरकोट, भदौ ३१ : सातैवटा स्थानीय तहलाई उपलब्ध गराउने भन्दै खरीद गरिएका बर्थिङ सेन्टरमा प्रयोग हुने सामग्री ६ महिनादेखि सदरमुकाममै थन्किएका छन्।
स्वास्थ्य सेवा कार्यालयले बोलपत्र आह्वान गरी खरीद गरेका बर्थिङ सेन्टरका सामग्री गत असारमै सबै स्वास्थ्य संस्थामा पुर्याइ सक्नुपर्ने भए पनि अहिलेसम्म सदरमुकामको निजी घरमा थन्किएको पाइएको छ।
गत चैत र वैशाखमै सदरमुकाम आइपुगेका सामग्री सदरमुकाममा थन्क्याएर राखिएको छ। स्थानीय तहले बर्थिङ सेन्टरमा आवश्यक समस्याका बारेमा लिखित माग गरेअनुसार अघिल्लो वर्ष ती सामग्री खरीद गरिएका थिए।
खरीद गरिएका सामग्रीको अभाव भएपछि पटक पटक माग गरे पनि स्वास्थ्य सेवा कार्यालयले उपलब्ध नगराएको पालिकाले बताएका छन्। वर्षायाममा बाटो अवरुद्ध हुँदा पालिकाले कतैबाट ल्याउन नसकेको र माग गरिएका सामग्री स्वास्थ्य सेवा कार्यालयले खरीद गरे पनि सदरमुकामै थन्क्याएर राख्दा समस्य थपिँदै गएको जुनिचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाले बताएको छ।
भेरी नगरपालिकाले समेत पटक पटक बर्थिङ सेन्टरका सामग्री माग गरे पनि नगरपालिकाको नाममा आएका सामग्री स्वास्थ्य सेवा कार्यालयले दिन सकेको छैन। बन्द कोठामा राखिएका ती सामग्री पालिकामा कहिलेसम्म पुग्छ भन्ने यकिन छैन।
नलगाड नगरपालिकामा मात्र अहिलेसम्म सामग्री पठाइएको र त्यहाँबाट बर्थिङ सेन्टरसम्म पुगे, नपुगेको कुनै जानकारी नआएको स्वास्थ्य कार्यालयले जनाएको छ। प्रदेश सरकारको दायित्वअन्तर्गत ती सामग्री स्वास्थ्य सेवा कार्यालयले खरीद गरेको थियो।
अघिल्लो आर्थिक वर्षमा मागका आधारमा खरिद गरिएका सामग्री सदरमुकाममा थन्क्याएर राख्दा उता पालिकामा सामग्रीको अभावमा सुत्केरी गराउन समस्या भइरहेको स्वास्थ्य शाखाले जानकारी दिएका छन्।
सङ्घीय सरकार र पालिकाले बर्थिङ सेन्टर मात्र निर्माण गरेको तर सामग्री केही मात्रा खरिद गरिएको भए पनि पूरा सामग्री नभएका कारण स्वास्थ्य सेवा कार्यालयसँग अघिल्लो वर्ष माग गरिएको थियो।
झण्डै ८० प्रकारका सामग्री एउटा बर्थिङ सेन्टरमा आवश्यक पर्ने गर्दछ। सुत्केरी गराउने बेड, सक्सन मेसिन, डेलिभरी सेट, म्याटेस, सक्सन ट्यूब, अक्सिजन मास्क र न्यानो कपडा लगाएका सामग्री बढी महत्वपूर्ण मानिन्छन् । यी सामग्री खरिद गरेर सदरमुकाममा थन्क्याइएको र कहिले गाउँमा जान्छ थाहा नभएको स्वास्थ्यकर्मीले बताएका छन्। (रासस)










