Kathmandu Press

आगलागीबाट घाइते परिवारको उपचारमा समस्या

झापा, भदौ ३१ : खाना पकाउने सिलिन्डर चुहावटका कारण भएको आगलागीमा गम्भीर घाइते एकै परिवारका तीन जनाको उपचारमा आर्थिक अभाव भएको छ।दुई दिनअघि...
आगलागीबाट घाइते परिवारको उपचारमा समस्या

झापा, भदौ ३१ : खाना पकाउने सिलिन्डर चुहावटका कारण भएको आगलागीमा गम्भीर घाइते एकै परिवारका तीन जनाको उपचारमा आर्थिक अभाव भएको छ।

दुई दिनअघि झापाको अर्जुनधारा नगरपालिका–७ मा कनकाइ ग्यासको सिलिन्डर फेर्दा ग्यास चुहिएर भएको आगलागीमा घरमूली ४२ वर्षीय रोमनाथ खनाल, उहाँकी पत्नी ३८ वर्षीया दुर्गा खनाल र १८ वर्षीय छोरा पङ्कज खनाल गम्भीर घाइते छन्।

घाइतेलाई उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा भर्ना गरिएको छ। उपचारमा आर्थिक समस्या भएपछि आर्थिक सहयोग सङ्कलन गर्न समिति गठन गरिएको छ।

Hardik ivf

गोविन्द खतिवडाको संयोजकत्वमा गठित १७ सदस्यीय सहयोग सङ्कलन समितिले खनाल परिवारको उपचारमा सघाउन सबैलाई अपिल गरेको छ।

उपचारमा लगभग ४० लाख खर्च लाग्ने चिकित्सकले बताएको हुँदा चन्दा सङ्कलन गर्नुको विकल्प नभएको समितिका संयोजक खतिवडाले बताए। सोमबार साँझ ५ बजेतिर घरको भान्साकोठामा नयाँ सिलिन्डर फेर्दै गर्दा ग्यास चुहावट भएर आगलागी भएको र सो दुर्घटनामा परिवारका चार सदस्य घाइते भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार सो आगलागीमा खनाल परिवारको २० लाख मूल्य बराबरको भौतिक सम्पत्तिसमेत क्षति भएको छ। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका खनाल दम्पती र छोराको शरीरका विभिन्न भाग जलेको छ भने ८५ वर्षीया आमा मङ्गलादेवी खनालको खुट्टामा आगोले पोलेको छ।

घटनापछि खनालको घरमा ताला लागेको छ। घाइते अवस्थाकी आमा मङ्गलादेवी आफन्तको आश्रयमा बसिरहेकी छन्। नातेदार ज्ञानप्रसाद पोखरेलले घरका सबै सदस्य घाइते भएर उपचारका लागि अस्पताल भर्ना भएपछि घरमा ताला लागेको बताए।

उनले खनाल परिवारको आर्थिक अवस्था नाजुक भएको र उपचारमा लाग्ने खर्च बेर्होन नसक्ने बताए। उपचारका लागि नातेदारले स्थानीय अर्जुनधारा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र कनकाइ ग्यास उद्योग गुहारिरहेका छन्।

अर्जुनधारा नगरपालिकाले खनालको घर क्षतिग्रस्त भएको हुँदा घर पुनर्निमाणका लागि ५० हजार र उपचारका लागि रु एक लाख दिने भएको नातेदार पोखरेलले जानकारी दिए। (रासस)

प्रकाशित मिति: ०७:२७ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्