'ग्रिन एन्ड ह्याप्पी' भुटानमा कारको संख्या बढ्यो
थिम्पु, साउन १२ : आर्थिक वृद्धिलाई भन्दा समग्र राष्ट्रिय खुशीलाई बढी महत्व दिने भुटान दिगो विकासका लागि उदाहरणीय बनेको छ। तर सवारी साधनको बढ्दो स....

थिम्पु, साउन १२ : आर्थिक वृद्धिलाई भन्दा समग्र राष्ट्रिय खुशीलाई बढी महत्व दिने भुटान दिगो विकासका लागि उदाहरणीय बनेको छ। तर सवारी साधनको बढ्दो संख्याले “कार्बन नेगेटिभ” देशको दुर्लभ हैसियत जोगाउने प्रयास प्रभावित हुनसक्छ। देशमा यातायातको बढ्दो चापले नागरिकको संयम परीक्षण गरिरहेको छ।
भुटानको सडकमा कुद्ने कार, बस र ट्रकको संख्या अघिल्ला दुई दशकयता पाँच गुणा बढेको छ। यातायात नियमन निकायका निर्देशक पेम्बा वाङ्चुकले सवारी साधनको संख्या सबैभन्दा धेरै राजधानी थिम्पुमा बढेको बताए।
मिडिया परामर्शदाता फुन्त्शो वाङ्दी सवारी साधनको भीडभाड र पार्किङको अभावले यो सानो हिमाली अधिराज्यमा सवारी साधन चलाउन तनावपूर्ण भएको बताउँछन्। यहाँ ट्राफिक बत्ती पनि छैन।
“थोरै कार भए हुन्थ्योजस्तो लाग्छ। पहिले यस्तो थिएन,“ थिम्पुको जनजीवनबारे उनी बताउँछन्। भुटानमा सबैभन्दा धेरै कार यही छन्।
विश्व बैंकले जनाएअनुसार अघिल्लो दशकमा देशको अर्थतन्त्र प्रति वर्ष साढे सात प्रतिशतले बढेको छ। अधिकारीका अनुसार भुटानका सातमध्ये एकजनासँग अहिले कार छ। भुटानको कुल जनसंख्या साढे सात लाख छ।
तर देशको ग्रामीण क्षेत्रका साँघुरा बाटो र जीर्ण सडकले यो समस्या बिरलै थाम्नसक्छ। पूर्वाधारको अभाव छ। सवारी साधन चलाउने सँस्कार पनि राम्रो छैन। केहीले सडकको बीचमै कार पार्किङ गर्छन्। यसले समस्या झन् बढाएको छ।
“कारको संख्या र जनसंख्या प्रत्येक वर्ष बढिरहेको छ। सडक भने उस्तै छ। यो हाम्रो समस्या हो,” ट्याक्सी चालक ल्हेन्डुपले बताए।
पहिले बिहानको समय पाँच मिनेट लाग्ने बाटो तय गर्न अहिले आधा घण्टाभन्दा धेरै समय लाग्छ।
मनिला, जकार्ता र बैंककका यात्रुले सामना गर्ने समस्याको अगाडि यो तथ्याङ्क सानो र थोरै देखिन्छ। तर पोहोरदेखि तिव्र रूपमा परिस्थिती खस्किएको बताउने भुटानी नागरिकका लागि यो खासै महत्वको विषय होइन।
“अस्तव्यस्त छ। समय बचाउन म कारमै बिहानको खाजा खान्छु,” क्वेनजाङ चोदेनले बताइन्। काममा जानुअघि उनी चार वर्षिया छोरीलाई दैनिक विद्यालय पुर्याउन जान्छिन्।
ट्राफीक जाम देशले सामना गरिरहेको वृहत आर्थिक परिवर्तनको संकेत हो। भुटानले कुल ग्राहस्थ उत्पादनभन्दा कुल राष्ट्रिय खुशीलाई बढी प्राथमिकता दिन्छ। पर्यटकमाझ सुखी र शान्त स्थलको छवि बनाए पनि असन्तुष्टिका संकेत भेटिन्छन्।
विश्व बैंकको सन् २०१८ को प्रतिवेदनअनुसार युवा बेरोजगारी दर उच्च छ। गाउँबाट शहर बसाइँ सर्नेहरू पनि त्यतिकै बढे। यसले त्यहाँको श्रोतमाथि ठूलो दबाव सिर्जना भएको छ। संयुक्त राष्ट्र संघको “ह्याप्पीनेस रिपोर्ट” अनुसार भुटान विश्वको १५६ देशमध्ये ९५औं स्थानमा पर्दछ।
इन्टरनेट र स्मार्टफोनको जगजगीले आधुनिक चाहना बढाएको छ। खरिदकर्ता आकर्षित गर्न यहाँका “शोरूम” जापान र दक्षिण कोरियाली उत्पादनले सजिएका छन्। कर वृद्धि र सवारी साधनको कर्जामा सीमा तोकिए पनि कार किन्नेहरूको संख्या घटेको छैन।
सन् २०१५ मा स्थानीय वित्तिय संस्थाहरूले कार कर्जा वापत चार करोड ६० लाख अमेरिकी डलर लगानी गरे। तर पोहोरसम्म कार कर्जा नौ करोड ६० लाख अमेरिकी डलर पुगेको छ। यो वृद्धिले स्थानीय व्यायापीरलाई खुशी बनाए पनि भुटानलाई विश्वको हरित देश बनाउन चाहने वातावरणविद्लाई चिन्तित बनाएको छ।
वातावरणविद् येशे दोर्जी भन्छन्,“कार्बन नेगेटिभ देश भएकोमा गर्व गर्ने देश भए पनि जैविक इन्धन प्रयोग गर्ने सवारी साधनको बढ्दो संख्याले वातावरण संरक्षणको सवालमा हाम्रो नेतृत्व कमजोर भएको देखाउँछ।”
धेरै जंगल भएको भुटान र सुरिनामले मात्रै आफूलाई कार्बन नेगेटिभ देश भनी दाबी गरेको छ। यी देशले उत्पादन गर्ने कार्बन प्रदूषणभन्दा धेरै कार्बन सोस्ने गर्छन्। बाली जलाउँदा, गाइ र अन्य कृषि गतिविधीले उत्पादन गर्ने मिथेन भुटानको हरितगृह ग्याँसको प्रमुख श्रोत हुने गर्थ्यो। तर पछिल्ला वर्षहरूमा उद्योग र कारले सबै कुरा परिवर्तन गरेका छन्।
भुटानको संविधानअनुसार देशको कम्तीमा ६० प्रतिशत जंगल हुनुपर्छ। हाल देशमा ७० प्रतिशतभन्दा धेरै जंगल छ। तर अहिले भारतलाई निर्यात गर्ने जलविद्युतभन्दा धेरै जैविक इन्धन आयात गर्दछ। यसले देशलाई सबैभन्दा धेरै राजस्व पनि दिएको छ। सार्वजनिक यातायात कमजोर छ। करिब एक लाख जनसंख्या रहेको थिम्पुमा अझ गम्भीर अवस्था छ। त्यहाँ मुश्किलले ४० ओटा बस होला।
राजधानीका मेयर किन्ले दोर्जी शहरी सडकमा बसमात्रै गुड्न पाउने प्रावधान ल्याउन चाहन्छन्। उनी अझ धेरै बस किन्न चाहन्छन्।
“अब आमूल उपायको समय भएको छ,” उनले भने । “हामीले सार्वजनिक यातायातलाई बढी आकर्षक बनाउनुपर्छ। मानिसहरूलाई कार किन्नबाट निरूत्साहित गर्नुपर्छ।” यसो नगरे थिम्पु ठप्प हुने उनले चेतावनी दिएका छन्।
सवारी साधनको चाप कम गर्न शहरले पहिलो पटक दुई तले कार पार्क बनाइरहेको छ। यस्तो एउटा पार्कमा करिब ६ सय कार अटाउने छन्।
ट्राफिक जाम र सवारी साधनको संख्या वृद्धि भए पनि भुटान अझै कार्बन नेगेटिभ भएको नेसनल इन्भाइरोन्मेन्टल कमिशन भएको भुटानको दाबी छ। तर परिस्थिती गम्भीर हुनबाट रोक्न पनि चाहन्छ।
कमिशनका सचिव डाशो सोनाम पी. वाङ्दी भन्छन्,“मानिसहरूलाई काम किन्नबाट हामी रोक्न सक्दैनौं र विकल्प दिन सक्छौं। कार्बन पदचिन्ह न्युनिकरण गर्न हाइब्रिड र विद्युतीय कार ल्याउनसक्छौं।”



-1771243509.jpg)








