छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु
काठमाडौं, भदौ ३० : जाजरकोट, बाँके र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।जाजरकोटको नलगाड नगरपालिका–५ ग्रेनीस्थित सडकमा भे०१ ज ९८७...
काठमाडौं, भदौ ३० : जाजरकोट, बाँके र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।
जाजरकोटको नलगाड नगरपालिका–५ ग्रेनीस्थित सडकमा भे०१ ज ९८७ नम्बरको जिप अनियन्त्रित भई पल्टिएर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा बारेकोट गाउँपालिका–२ बस्ने ४२ वर्षीय शान्ती रोकाय र जुम्ला गोठीचौर गाउँपालिका–१ मणिसाँघु बस्ने ५५ वर्षीय मंगल महतरा रहेका छन्।
दुर्घटनामा घाइते भएका बारेकोट गाउँपालिका–१ रामीडाँडा बस्ने १५ वर्षीय रुपक बुढालगायत ६ जनालाई प्राथमिक अस्पताल दुल्लु जाजरकोट पठाएकोमा ३ जना डिस्चार्ज भएका छन् भने ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको डुडुवा गाउँपालिका–४ राप्ती पुलस्थित सडकमा भे१ख १४८३ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा टाउको पुलको खम्बामा ठोक्किँदा बसमा सवार गेरुवा गाउँपालिका–१ पाताभार बस्ने १५ वर्षीय आदर्श परियारको मृत्यु भएको छ।
पुलको खम्बामा ठोक्किएर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–११ मजुवा बस्ने ३० वर्षीय राजु सिंजापतीको मंगलबार राति मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेश अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।











