Kathmandu Press

गाडी दुर्घटनामा एक वर्षमा दुई हजार सात सयकाे मृत्यु

काठमाडौं, साउन ११ : गाडी दुर्घटना दिनप्रतिदिन बढ्दै गएको छ। गत एक वर्षमा देशभर दुर्घटनामा दुई हजार सात सय ८९ जनाको मृत्यु भएको छ।

नेपाल प्रह....

गाडी दुर्घटनामा एक वर्षमा दुई हजार सात सयकाे मृत्यु
फाइल फोटो

काठमाडौं, साउन ११ : गाडी दुर्घटना दिनप्रतिदिन बढ्दै गएको छ। गत एक वर्षमा देशभर दुर्घटनामा दुई हजार सात सय ८९ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार, गत एक वर्षमा भएका १३ हजार तीन सय ६६ दुर्घटनामा चार हजार तीन सय ७६ जना गम्भीर घाइते भएका छन्। जसमा १० हजार तीन सय ६० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा देशभर गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या बढेको  नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताए।

प्रहरीका अनुसार, आव २०७४/७५ मा नौ हजार नौ सय ८९ दुर्घटनामा दुई हजार तीन सय १८ जनाको मृत्यु भएको थियो। त्यस्तै, आव २०७३/७४ मा १० हजार एक सय ७८ सवारीसाधन दुर्घटना हुँदा दुई हजार तीन सय ८४ जनाको ज्यान गएको थियो।

चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गह्रौं सामानका कारण बढी दुर्घटना हुने गरेको प्रहरी नायब महानिरीक्षक पोखरेलले बताए।

प्रहरी प्रधान कार्यालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार, ट्र्याक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ।

यस्तै, काठमाडौँ उपत्यकामा पनि सवारीसाधन दुर्घटनाको सङ्ख्या वर्षेनी बढ्दै गएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको हो।

आव २०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट एक सय ९४ जनाको मृत्यु भएको थियो भने आव २०७५/७६ मा उक्त सङ्ख्या बढेर दुई सय ५४ पुगेको छ।

आव २०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट एक सय ८२ जनाको ज्यान गएको थियो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले फराकिलो सडक, भौतिक पूर्वाधारको कमी र तीव्र गतिका कारण उपत्यकामा सवारीसाधन दुर्घटनामा वृद्धि भएको बताए। ‘चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो,’ उनले भने।

किन हुन्छ दुर्घटना?

लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गरेका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठले मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताए।

२५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको उनले बताए। तीव्र गतिलाई कम गर्नसके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउन उनको भनाइ छ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाखको हाराहारीमा सानाठूला सवारीसाधन सञ्चालनमा छन्।

प्रकाशित मिति: १२:२३ बजे, शनिबार, साउन ११, २०७६