Kathmandu Press

नेपालमा हेपाटाइटिस बि नियन्त्रणमा : विश्व स्वास्थ्य संगठन

काठमाडौँ, साउन ११ : दक्षिणपूर्वी एसिया क्षेत्रमा हेपाटाइटिस बि नियन्त्रण गर्ने नेपाल पहिलो देश मध्येमा परेको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिब....

नेपालमा हेपाटाइटिस बि नियन्त्रणमा : विश्व स्वास्थ्य संगठन
एजेन्सी

काठमाडौँ, साउन ११ : दक्षिणपूर्वी एसिया क्षेत्रमा हेपाटाइटिस बि नियन्त्रण गर्ने नेपाल पहिलो देश मध्येमा परेको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिबेदन अनुसार बंगलादेश, भुटान र थाईल्याण्डसहित नेपालमा हेपाटाइटिस बि नियन्त्रणमा आएको हो।  

विश्व स्वास्थ्य संगठनले घोषणा गरे अनुसार यी चार देशका पाँच वर्ष उमेर पुगेका बालबालिकामा यो प्राणघातक रोग हुने सम्भावना एक प्रतिशतभन्दा कम छ। 

“सबै बालबालिकालाई जहाँ पनि, जति बेला पनि हेपाटाइटिस खोप उपलब्ध गराउने दृढताले नै यो सम्भव भएको हो। यो सफलता जनताको स्वास्थ्यप्रति प्रतिबद्ध देशको सूचक हो। बालबालिकाको हितका लागि स्वास्थ्यकर्मी र समुदायले पनि अथक प्रयास गरेका छन्,” विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीष निर्देशक डा. पूनम खेत्रपाल सिंहले बताइन्।

विश्व स्वास्थ्य संगठनद्वारा जारी बिज्ञप्ति अनुसार बंगलादेश, भुटान, नेपाल र थाइल्यान्डमा धेरै वर्षदेखि बाल खोप दर निरन्तर ९० प्रतिशतभन्दा बढी छ । त्यही भएर विश्व स्वास्थ्य संगठन कार्यरत दक्षिणपूर्वी एसिया क्षेत्रमा हेपाटाइटिस बि नियन्त्रण भएको पुष्टि गर्ने विशेषज्ञहरूको टोलीले यी देशको तथ्याङ्क प्रमाणीकरण गर्न सिफारिश गरे। पाँच वर्ष उमेरका बालबालिकाको अध्ययन गर्दा खोपको उच्च दर र यी चार देशमा हेपाइटाइटिस बिको व्यापकता एक प्रतिशतभन्दा कम भएको पुष्टि भयो।

विश्व स्वास्थ्य संगठन कार्यरत दक्षिणपूर्वी एसियाका ११ देशका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एक वर्ष नपुग्दै हेपाइटाइटिस खोपको तीन मात्रा पाउँछन्। आमाबाट बच्चामा हेपाटाइटिस संक्रमण नहोस् भनेर ८ वटा देशले जन्मनुअघि नै हेपाटाइटिस खोप दिने गर्दछन्। नवजात शिशुमा हेपाटाइटिस बिको संक्रमण रोकथाम गरे वयस्क उमेरमा हुने दीर्घकालीन संक्रमण तथा कलेजोको क्यान्सर हुने सम्भावना पनि घट्छ।

दक्षिण एसियाली क्षेत्र खोप कार्ययोजना अन्तर्गत सन् २०२० सम्म खोपमार्फत् दक्षिणपूर्वी एसिया क्षेत्रमा हेपाटाइटिस बि नियन्त्रण गर्ने लक्ष्यले पनि हेपाटाइटिस नियन्त्रणमा सहयोग पुगेको हो। यो क्षेत्रका लागि विश्व स्वास्थ्य संगठनका सद्भावना दूत अमिताभ बच्चनले पनि हेपाइटाइटिस विरूद्धको अभियानमा सहयोग पुर्‍याएको डा. सिंहले बताइन्।

यो वर्षको विश्व हेपाटाइटिस दिवस हेपाटाइटिस उन्मूलनका लागि लगानीमा केन्द्रित छ। दिवस आउन अब केही दिन मात्रै बाँकी छ।

“हेपाटाइटिस सजिलै रोकथाम र उपचार गर्न सकिन्छ। सदस्य राष्ट्रले हेपाटाइटिस विरूद्ध निरन्तरता सचेतना फैलाउनुपर्छ। सुरक्षित सुईं, सुरक्षित रगत र संक्रमणको रोकथाम र नियन्त्रणजस्ता उपाय बढाउनुपर्छ,” क्षेत्रीय निर्देशकले बताइन्।

रोकथाम गर्न सकिने भए पनि विश्व स्वास्थ्य संगठनले काम गर्ने दक्षिणपूर्वी एसियाली क्षेत्रमा हेपाटाइटिसले प्रत्येक वर्ष चार लाखभन्दा धेरैको ज्यान लिन्छ। तीमध्ये अधिकांश जीवनको उर्वर उमेरका हुन्छन्। करिब नौ करोड मानिस कलेजोको दीर्घकालीन रोगबाट पीडित छन्। यो क्षेत्रमा कलेजोको क्यान्सर र सिरोसिसकोको प्रमुख कारण नै यही हो।

विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली क्षेत्रमा ११ सदस्य राष्ट्र छन्: बंगलादेश, भुटान, उत्तर कोरिया, भारत, इन्डोनेशिया, माल्दिभ्स, म्यान्मार, नेपाल, श्रीलङ्का, थाइल्यान्ड र टिमोर लिस्टे ।
 

प्रकाशित मिति: ०७:१० बजे, शनिबार, साउन ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्