कांग्रेस सांसदको माग-मापसे गरेर कार्यालय आउने कर्मचारीलाई बर्खास्त गर्ने कानून बनाऔं
काठमाडौं, साउन १० : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर....
काठमाडौं, साउन १० : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्ने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद कँडेलले कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई फेरि सरकारी सेवामा प्रवेश गर्न अयोग्य हुने गरी बर्खास्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका हुन्।
‘संघीय निजामती सेवाको गठन, संचालन र सर्तको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले कर्मचारीहरुलाई कार्यालय समयमा मदिरा सेवन गर्न निषेध नै गर्न उपयुक्त हुने बताए। सेवाग्राहीलाई सेवा दिन बसेको कर्मचारीले मदिरा सेवन गरेर कार्यालयमा काम गर्न नसक्ने हुनाले उसलाई सो सेवाबाटै हटाउने कानूनी व्यवस्था गर्नुपर्ने उनको माग छ।
सत्तारुढ नेकपाका सांसद नवराज सिलवालले भने मदिरा सेवन गर्ने कर्मचारीलाई पदबाटै बर्खास्त गर्नुपर्ने कांग्रेस सांसद कँडेलको मागप्रति असहमति जनाए। उनले परिस्थितिलाई हेरेर त्यस्ता कर्मचारीहरुलाई पनि सुधार गर्ने अवसरसहितको कानूनी व्यवस्था गर्न उपयुक्त हुने बताए।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दण्डित गर्नुपर्ने कर्मचारीलाई कारबाही नगर्ने पदाधिकारीलाई पनि कारबाही हुने गरी कानूनी व्यवस्था गर्न सरकार तयार रहेको बताएका थिए।
दण्डित गर्नुपर्ने कर्मचारीलाई दण्डित नगर्ने पदाधिकारीलाई पनि कारबाही गरेर मात्रै कर्मचारी प्रशासनलाई सुधार गरेर लैजान सकिने मन्त्री पण्डितको तर्क छ। मन्त्री पण्डितले गल्ती गर्ने कर्मचारीलाई सरकारले आवश्यक सजायको व्यवस्था गर्ने पनि बताएका थिए।






