Kathmandu Press

केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मन्त्री भुसाल

केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मन्त्री भुसाल

काठमाडौं, भदौ २९ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन्। 

नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले आज बेलचौतारामा आयोजना गरेको कार्यकर्ता भेलामा उनले लामो समयदेखि रोकिएको मन्त्रिपरिषद् विस्तारले अब पूर्णता पाउने बताएकी हुन्। मन्त्री भुसालले भनिन्, ‘दुई महिनादेखि मन्त्रिपरिषद् अपूर्ण छ, यही भदौ ३० गते संसद्बाट बजेट पास भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ।’

Hardik ivf

उनले वर्तमान सरकारले जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठन विस्तारमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरिन्। मन्त्री भुसालले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन लाग्नुपर्नेमा जोड दिइन्। 

उनले वर्तमान निर्वाचन प्रणालीका कारण एउटै पार्टीको बहुमत नआउने स्थिति देखिएकाले चुनावमा अरु पार्टीसँग पनि गठबन्धन गरिने उल्लेख गरिन्। ‘अरु पार्टीको भर पर्नुभन्दा पनि आफैँ सुदृढ भएर अगाडि बढ्नुपर्छ,’ उनले भनिन्, ‘माओवादीलाई ठूलो पार्टी बनाउन अहिलेदेखि नै लाग्नुपर्छ ।’ 

उनले सरकारका राम्रा कामको प्रचार जनतामाझ पु¥याउन आग्रह गरिन्। 

मन्त्री भुसालले संसद अवरुद्ध गर्ने कार्य नाजायज भएको बताउँदै नेकपा एमाले त्यसतर्फ गम्भीर हुनुपर्ने बताइन्। सभामुखले कानूनको प्रयोग गरेको उल्लेख गर्दै उनले अन्यको रिस सभामुखमाथि थोपर्न नहुने बताइन्। ‘पार्टी फुटेको रिस नेकपा एमालेले अहिले सभामुखमाथि प्रयोग गरेको छ, यो राम्रो होइन,’ उनले भनिन्। 

अठार प्रतिशत गरिबीको रेखामुनि रहेका जनतालाई गरिबीको रेखा भन्दामाथि ल्याउने गरी काम गर्नुपर्ने सरकारको चुनौती रहेको बताउँदै मन्त्री भुसालले भनिन्, ‘समाजवादको जग खडा गर्ने अभियानमा लाग्नुपर्छ, त्यो कार्यभारलाई अगाडि बढाउनुपर्ने अहिलेको मुख्य आवश्यकता हो ।’

कार्यक्रममा राष्ट्रियसभा सदस्य दीनानाथ शर्मा, गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालालगायत सहभागी थिए। रासस
 

प्रकाशित मिति: १६:४२ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्