‘निर्मला पन्तकी आमालाई प्रभावमा पार्ने प्रयास भयो’
काठमाडौं, साउन १० : नेपाल मानव अधिकार संगठनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा समग्र अनुसन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको आरोप लग....

काठमाडौं, साउन १० : नेपाल मानव अधिकार संगठनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा समग्र अनुसन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको आरोप लगाएको छ।
संगठनले घटना भएको एक वर्षपछि पुनः उक्त घटनासँग सम्बन्धित सबै अनुसन्धान प्रतिवेदनहरु सार्वजनिक गरेर प्रतिवेदनले शंका गरेका सबैमाथि प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसमक्ष माग गरेको हो।
हत्याकाण्डको एक वर्ष बित्दापनि अझैसम्म दोषी पत्ता लगाउन नसकेकोे भन्दै नेपाल मानव अधिकार संगठनले सरकारको व्यवहारप्रति आपत्ति जनाएको छ।
शुक्रबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले सरकारले घटनाको एक वर्ष हुँदै गर्दा ‘निर्मलाजस्ता काण्ड हिजोपनि भएका थिए र भोलिपनि हुँदै गर्छन्’ भन्ने गृहमन्त्रीको अभिव्यक्तिले देशमा कोहीपनि सुरक्षित नरहेको देखाउने बताए।
संगठनका अध्यक्ष अर्यालले निर्मला प्रकरणमा सरकारी रवैया सदैव विवादास्पद रहन गएको आरोप लगाए। अर्यालले भने,‘सबै प्रतिवेदनले निर्मलाको हत्या र बलात्कारलाई स्वीकार गरेपनि अपारदर्शी फौजदारी अनुसन्धान प्रक्रियाले बलात्कारी र हत्यारासम्म सरकार पुग्न सकेन। फौजदारी न्यायिक अनुसन्धानका लागि आवश्यक पारदर्शीता सरकारले प्रस्तुत गर्न सकेन।’
संगठनले निर्मला पन्तकी आमालाई प्रभावमा पार्ने प्रयास भएको पनि आरोप लगाएको छ। संगठनले जारी गरेको विज्ञप्तिमा त्रासको वातावरण बनाएर निर्मला पन्तको आमालाई दबाब दिई उक्त प्रमाण लोपसम्बन्धी मुद्दालाई कमजोर बनाउने चेष्टा गरिएको उल्लेख छ। ‘राज्यले अन्यायविरुद्धका स्वरलाई दबाउने विभिन्न षड्यन्त्र गरेको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।
ओपेरा होटलको सिसिटीभी फुटेज कब्जामा लिएर अन्तर्राष्ट्रिय विज्ञहरु समेतको सहयोगमा त्यसमा रहेका रेकर्डलाई संकलन गर्न सक्नुपर्नेमा सरकारी पक्ष उदासिन रहन गएको पनि संगठनको आरोप छ। कार्यक्रममा अधिवक्ता पुष्पराज पौडेलले न्यायको खोजीको एक वर्ष वितिसक्दापनि राज्यले न्याय दिलाउन नसकको आरोप लगाए।
घटनालाई मोड्न, दबाबमा पार्न र वास्तविक दोषीलाई कारबाहीबाट उम्काउन डिएनए टेष्ट तथा ओपेरा होटलको सीसीटिभीको फुटेज सार्वजनिक नगर्नुले घटनाको अनुसन्धानको सुईँ सरकारकै आडमा रहेको तिर मोडेर अनुसन्धान गर्नु पर्ने उनको भनाइ छ।

-1784896419.png)









