Kathmandu Press

डोटीमा भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

डोटी, भदौ २९ : जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ। यसबाट  विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन्। यहाँका अस्पताल...
डोटीमा भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

डोटी, भदौ २९ : जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ। यसबाट  विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन्। यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी बताउँछन्।

केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सस्थाले जनाएका छन्। जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले अस्पतालमा  दैनिक १० देखि १५ ज्वरोका बिरामी उपचारका लागि आउने गरेकोे जानकारी दिए।

Hardik ivf

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण जोशीले भने, ‘अस्पतालमा अन्य रोगभन्दा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ, दैनिक आउने ज्वरोका बिरामीका कारण उपचार गर्नमा निकै समस्या हुँदै आएको छ।’ 

निजीस्तरका अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ३०÷४० प्रतिशत भाइरल ज्वरोको समस्या हुने गरेको शैलेश्वरी अस्पताल दिपायलका डा ललित लिम्बूले बताए। यहाँका निजी मेडिकल तथा पोलिक्लिनिकमा समेत उक्त रोगका बिरामी बढ्दै गएको महाकाली पोलिक्लिनिक दिपायल राजपुरका स्वास्थ्यकर्मी पदमसिंह महराले जानकारी दिए। 

पछिल्लो केही दिनयता यहाँका गाउँघरमा समेत भाइरल ज्वरोका बिरामी देखिन थालेको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोबिन्द विष्टले बताए।  यहाँका निजी मेडिकलमा उच्च जोडका औषधि दिने तथा ज्वरो चाँडै निको हुने भएकाले पनि उक्त रोगका बिरामी सरकारी अस्पतालभन्दा निजी मेडिकलप्रति बढी आकर्षित हुने गरेको केआइसिंह गाउँपालिका–५ का स्थानीयवासी चेतराज भट्टले जानकारी दिए।

मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो आउने गरेको शैलेश्वरी अस्पतालका निर्देशक आइजंग कुँवरले बताए। 

यस्ता बिरामीलाई झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।
 

प्रकाशित मिति: ०९:४६ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्