जिल्लामा पनि राष्ट्रिय जनगणनाको तयारी सुरु
चितवन, भदौ २९ : राष्ट्रिय जनगणना २०७८ को जिल्ला जिल्लामा पनि तयारी सुरु भएको छ।चितवनमा पनि तयारी तीव्र बनाउँदै सुपरीवेक्षकको तालिम सम्पन्न गरेको...
चितवन, भदौ २९ : राष्ट्रिय जनगणना २०७८ को जिल्ला जिल्लामा पनि तयारी सुरु भएको छ।
चितवनमा पनि तयारी तीव्र बनाउँदै सुपरीवेक्षकको तालिम सम्पन्न गरेको छ। स्थानीय तहमा जनगणना कार्यालय स्थापनको काम सम्पन्न भइसकेको छ भने सात स्थानीय तहमा सुपरीवेक्षक बुधबारदेखि खटिँदै छन्। कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार यही भदौ ३० देखि असोज १८ गतेसम्म सुपरीवेक्षकले स्थलगतरूपमा सूचीकरण गर्नेछन्।
यसका लागि भरतपुर महानगरपालिकामा १०७, रत्ननगरमा ३०, खैरहनीमा १९, राप्तीमा १७, कालिकामा १५, माडीमा १३ र इच्छाकामना गाउँपालिकामा नौ सुपरीवेक्षक खटिने छन्। सुपरीवेक्षकले सूचीकरणको समयमा स्थानीय तहका वडामा सामुदायिक प्रश्नावली भर्नेसम्मका काम गर्नुपर्नेछ।
आगामी असोज १० गते जिल्लामा जनगणनका लागि ८५७ गणकको नतिजा सार्वजनिक हुनेछ। गणकको नियुक्तिपछि एक सुपरीवेक्षकले चार गणकलाई परिचालन गरी गणना गर्नेछन्।
गणकका लागि आगामी कात्तिकमा तालिम दिइनेछ। गणकले कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणना हुनेछ।
जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा रहेको जनगणना समन्वय समिति गठन गरी काम अघि बढाइएको हो।
सङ्घीयतापछिको पहिलो जनगणना भएकाले गणकले कृषि गणनासमेत गर्ने उनले जानकारी दिए। गणकले गणना गरी ल्याएको तथ्याङ्कका आधारमा कार्यालयले मङ्सिर मसान्तसम्ममा काम सम्पन्न गर्नेछ। विसं २०६८ को जनगणनाअनुसार पाँच लाख ७९ हजार ९८४ जिल्लाको जनसङ्ख्या छ। (रासस)












