Kathmandu Press

चार महिनापछि खुल्यो हलेसी मन्दिर

खोटाङ, भदौ २९ : चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ।जिल्लामा कोभिड-१९ को सङ्क्रमण दर घट्दै गएको तथा सक्रिय...
चार महिनापछि खुल्यो हलेसी मन्दिर

खोटाङ, भदौ २९ : चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ।

जिल्लामा कोभिड-१९ को सङ्क्रमण दर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आइतबार बसेको बैठकले मन्दिर खुला गराउने निर्णय गरेको थियो।

Hardik ivf

गत वैशाख १५ गतेदेखि बन्द मन्दिर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्नेगरी खुला गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए। महामारी फैलिन थालेसँगै दैनिक बिहान र बेलुका हुँदैआएको नित्य/नैनित्य पूजालाई मात्र निरन्तरता दिने गरी बन्द गरिएको थियो। बिहान र बेलुकाको नित्य÷नैनित्य पूजाका क्रममा पुजारी र बाजा बजाउने नगर्चीलाई मात्र हलेसी मन्दिर प्रवेश गर्न अनुमति दिइएको थियो।

ताला लगाएका अवस्थामा हलेसी दर्शनमा आएका दर्शनार्थी एवम् तीर्थयात्रीले ढोका बाहिरबाटै दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो। कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो दोस्रो पटक भएको हलेसी विकास समितिले जनाएको छ।

हलेसीसँगै जिल्लाका सबै मठ, मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्च लगायतमा दैनिकरुपमा गरिने नित्य÷नैनित्य पूजा, प्रार्थनासहित पूजा, प्रार्थना, भजनकीर्तन, कलश यात्रा, बलिपूजा जस्ता धार्मिक कार्यहरु खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए। सबै क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्ने निर्णय गरिएको उनले बताए।

दश स्थानीय तह रहेको जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५५ मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। गत वैशाखयता दोस्रो भेरियन्टसहितको कोरोना सङ्क्रमण दुई हजार ९२६ मा देखिएको जिल्लामा १५ जनाको निधन भएको छ। 

सङ्क्रमितको सङ्ख्या धेरै भएपनि हालसम्म निषेधाज्ञा लागू नगरिएका जिल्लामा ३९ हजार ९८६ लाई पहिलो तथा २० हजार १७४ लाई दोस्रो खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

हरेक नागरिकलाई खोप उपलब्ध गराउने सरकारको नीति अनुसार जिल्लाका दशवटै स्थानीय तहमा खोप लगाउने व्यवस्था मिलाइएको खोप समन्वय समितिका संयोजकसमेत रहेका प्रजिअ शर्माले जानकारी दिए। (रासस)

प्रकाशित मिति: ०६:५३ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्