विस्फोटक पदार्थसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगन्ज, भदौ २८ : दुई वर्षअघि वीरगन्जको बिर्ता बजार र तरकारी बजारमा बम विस्फोट गराएको मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीगन्ज महानगरपालिका-२४ का ३३ वर्षीय विवेक सिंह भनिने फुलहसन अन्सारी रहेको प्रहरीले जनाएको छ। भारतबाट आज (सोमबार) बिहान ४ बजे वीरगन्ज-२४ रामगढवास्थित आफ्नो घर आउँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।
२०७६ साउन २४ गते वीरगन्ज-४ स्थित बिर्ता बजार र २८ गते वीरगन्ज-८ घण्टाघरनजिकै तरकारी बजारमा सुतली बम पड्काई जनमानसमा भयत्रास फैलाउने तथा वीरगन्जका उद्योगी व्यापारी तथा सर्वसाधारण नागरिकहरूलाई फोनबाट धम्क्याउने समेतका आपराधिक कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ।
घटनामा संलग्न चारजनामध्ये वीरगन्ज-२४ का इनुस अन्सारी, सोही ठाउँका जौवाद अन्सारी, सद्दाम अन्सारी पक्राउ परे पनि फुलहसन अन्सारी फरर हुँदे आएका थिए। अरू तीनजनालाई २०७६ भदौ ४ गते गोली चार थान तथा विस्टक पदार्थ (सुतली बम) सहित पक्राउ परी निजहरूउपर विस्फोटक पदार्थ, खरखजना तथा संगठित अपराधअन्तर्गत अनुसन्धान भई पर्सा जिल्ला अदालतबाट फैसला भई कैद सजाय भोगिरहेकोमा सोही आपराधिक घटनाका मुख्य योजनाकार रहेका फुलहसन घटनापछि फरार थिए।
उनी भारतको मुजफ्फरपुरमा आफ्नो नाम र पहिचान ढाँटी अंकित पटेलका नामबाट भारतीय आधार कार्ड बनाई बस्दै आएको र बेलाबखतमा भारतीय बजार रक्सौल आई वीरगन्जका उद्योगी तथा व्यापारीहरूलाई फोनमार्फत धाकधम्की दिई रकम असुली गर्ने गरेको र निजले केही दिन भित्रै वीरगन्जमा घट्ना घटाउने योजना बनाएको भन्ने समेत जानकारी प्राप्त भएपछि भारतीय प्रहरीसमेतको सहयोगमा खोजतलास भइरहेकोमा उनलाई आज पक्राउ गरिएको हो।
अन्सारी २०६५ पुस ७ मा वीरगन्ज-१३ बस्ने राजेश क्याललाई गोली हानी हत्या गर्ने घटनामा संलग्न रही मिति २०६५ पुस १६ गते वारदातमा प्रयोग भएको हतियारसहित निजलाई पक्राउ गरी गोली हानी कर्तव्य गरी मारेको कसूरमा सर्वस्वसहित जन्मकैद हुने ठहर भई कैद भुक्तान गरिरहेकोमा बडादशैँको अवसरमा बाँकी कैद मिनाहा भई कारागार कार्यालय पर्साबाट कैद मुक्त व्यक्ति भएको पनि प्रहरीले जनाएको छ।












