पञ्जाबमा चोरीको आरोपमा आठ नेपाली जेल चलान
धनगढी, साउन १० : भारतको पञ्जाबस्थित गुरुदेवनगरका नन्द किशोरको घरमा चोरी गरेको आरोपमा पक्राउ परेका आठ नेपाली युवकलाई जेल चलान गरिएको छ। कञ्चनपुर जिल्ला....
धनगढी, साउन १० : भारतको पञ्जाबस्थित गुरुदेवनगरका नन्द किशोरको घरमा चोरी गरेको आरोपमा पक्राउ परेका आठ नेपाली युवकलाई जेल चलान गरिएको छ। कञ्चनपुर जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो।
वैशाख २८ गते भएको यो चोरीको घटनामा संलग्न रहेको आरोपमा कुमार भन्ने सुरेन्द्र भुल, मानबहादुर कार्की, सन्तोष भट्टराई र शङ्कर भन्ने मानबहादुर लुहारलाई जेल चलान गरिएको हो। उनीहरूलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए।
अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएका चार जना पनि धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन्। धरौटी बुझाउन नसक्दा योगेन्द्र विक, गणेश विक, ध्वजबहादुर विक र पुस्कर भुललाई जेल पठाएको बस्नेतले बताए।
त्यस्तै, चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका सिद्ध विकलाई साधारण तारेखमा छोडिएको छ। कान्छु सुनार भन्ने रवीन्द्र सोब, योगेन्द्र विक, सुरेन्द्र विक र नरेश सिजापतिले धरौटी बुझाएपछि थप अनुसन्धानका लागि आज राजश्व अनुसन्धान विभाग कोहलपुर पठाइएको प्रहरीले जनाएको छ।
राज पार्कीलाई विषादी सेवन गराई बेहोस पारेर नन्दकिशोरको घरबाट नगद र धनमाल चोरी गरेको उनीहरूमाथि आरोप लागेको छ। उनीहरू भारतको लखिमपुर र कञ्चनपुरको पुनर्वास हुँदै नेपाल प्रवेश गरेको जनाइएको छ।
यो घटनमा संलग्न रहेको आरोप लागेका अमन जोशी, कुमार भुललगायतका थप तीन जना फरार रहेको प्रहरीले जनाएको छ।
चोरी गर्दा विषादी सेवन गराइएका राज पार्कीको जाहेरीमा उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो। जाहेरीपछि विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरिएको हो।
उनीहरू सबै सुदूरपश्चिमकै पहाडी जिल्लाका बासिन्दा रहेको प्रहरी प्रवक्ता बस्नेतले बताए।
नन्दकिशोरको घरबाट एक करोडभन्दा बढी मूल्य बरावरको धनमाल चोरी भएको जनाइएको छ। यो घटनाको अनुसन्धानका लागि प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन ‘इन्टरपोल‘ मार्फत आग्रह गरिएको जनाइएको छ।






