Kathmandu Press

विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिकाबीच खेल हुँदै

काठमाडौं, भदौ २८ : आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ।  ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल...
विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिकाबीच खेल हुँदै

काठमाडौं, भदौ २८ : आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ।  ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल ४ः१५ मा सुरु हुनेछ। 

नेपालले अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो। नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो। अमेरिकाले पनि नेपालसँग खेल्नुअघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो। अमेरिकाले दुवै खेल जितेको थियो।

यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा भएको थियो। नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गरेको थियो।

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ। सातै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । 

शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन्। पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।

यसअघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ। लिगमा नेपालले चार खेलमा चार अङ्क जोडेको छ। नेपाल छैटौँ स्थानमा छ। ओमान १६ अङ्क जोडेर शीर्ष स्थानमा छ। बाह्र अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ। स्कटल्यान्ड नौ अङ्कका साथ तेस्रो, नामिबिया आठ अङ्कसहित चौथो, युएई सात अङ्क जोड्दै पाँचौँ तथा पपुवा न्युगिनी अङ्कविहीन रहँदै पुछारमा छ। 
 

प्रकाशित मिति: १४:२३ बजे, सोमबार, भदौ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्