चीनलाई भारत सरह सुविधा दिन नेपालद्वारा अस्वीकार, चीनका १५ शहरमा उडान भर्न पाउने
काठमाडौं, साउन १० : चीनले हवाई उडानका लागि भारत सरहको सुविधा माग गरेको भए पनि नेपाल दिन अस्विकार गरेको छ। दुई दिनसम्म चलेको नेपाल र चीनवीचको हवाई सम्झ....
काठमाडौं, साउन १० : चीनले हवाई उडानका लागि भारत सरहको सुविधा माग गरेको भए पनि नेपाल दिन अस्विकार गरेको छ। दुई दिनसम्म चलेको नेपाल र चीनवीचको हवाई सम्झौता पुनरावलोकन वार्तामा भारत सरहको सुविधा नदिइकनै दुई देशबीच सम्झौता भएको छ।
नेपाल र चीनबीच हुन लागेको हवाई सम्झौता पुनरावोलकनको लागि चीनले नेपालसँग भारतको जस्तै सातामा ३० हजार सिट उडानको माग गरेको थियाे।
नेपाल र चीन सरकारबीच सातामा ९८ वटा उडान गर्ने पाउने गरी हवाई सम्झौता पुनरावलोकन भएको छ। जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ७० वटा उडान गर्नेसहित पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायतका नेपालमा निर्माणाधीन थप विमानस्थलमा २८ वटा उडान गर्ने पाउने गरी सहमति भएको छ।
वार्तामा सहभागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले चीनका १५ वटा विमानस्थलमा नेपालले उडान गर्न पाउने गरी हवाई सम्झौता भएको बताए। हाल चीनका सात वटा विमानस्थल मात्रै नेपालले उडान गर्न पाउने व्यवस्था रहेको थियो।
नेपाल सरकारले चीनसँग सबै शहरमा उडानकाे अनुमति माग गरेको थियो। नेपाल र चीनबीच भएकाे दुई पक्षीय वार्तामा नेपालले चीनका सबै शहरमा उडानका लागि खुल्ला गर्न माग गरेको भएपनि १५ वटा विमानस्थल मात्रै खुल्ला गर्ने सहमति भएको हो। हाल नेपालले चीनका बेइजिङ, सांघाइ, ग्वान्जाओ, लसान, छेन्दु, कुनमिङ र लासासँग मात्रै उडान गर्न पाउने सम्झौता रहेको छ।
साउन ७ गते भएकाे वार्ताका लािग नेपाली टोली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा चीन गएको थियो।
नेपाल वायुसेवा निगमले चार वर्षदेखि ग्वान्जाओ उडानको अनुमति मागेको भएपनि हालसम्म दिएको छैन। अहिले चीनले नेपाल वायुसेवा निगमको सुरक्षा अडिट गर्ने भन्दै पत्र पठाएको छ। जसका कारण निगमको चीन उडान झनै लम्बिएको छ।
निगमले चीनका पाँच वटा शहरमा सिधा उडानको प्रक्रिया सुरु गरेको थियो। ग्वान्झाओ, छेन्दु, सांघाई, लशान र बेइजिङमा सकेसम्म छिटो उडान गर्ने तयारी गरेकाे थियाे।
निगमले दुइटा एयरवस ३३०–२०० सिरिजको वाइडबडी जहाज नेपाल आइसकेको एकवर्ष हुदाँ समेत गन्तव्य पाउन सकेको छैन।
निगमले ग्वान्झाओ उडान गर्न अनुमति लिने प्रक्रिया सुरु गरेको तीन वर्षसम्म पनि चीनले स्वीकृति नदिएपछि नयाँ गन्तव्य थप्ने लक्ष्य अलपत्र परेको छ। चीनबाट नेपाल आउने पर्यटक संख्या बढ्दै गएको अवस्थामा निगमले उडान सुरु गरेमा वार्षिक पाँच लाख चिनियाँ पर्यटक नेपाल ल्याउन सक्ने सरकारी अनुमान छ।






