नारायणकाजीको आक्रोश- ‘हामी चाहिँ अयोग्य ! भागशान्ति खोज्न आएका भन्ने?’
काठमाडौं, साउन ९ : नेकपा प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी स्कुल विभाग साविक एमाले र माओवादीबीच भागवण्डा गर्दा एमालेको भागम....
काठमाडौं, साउन ९ : नेकपा प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी स्कुल विभाग साविक एमाले र माओवादीबीच भागवण्डा गर्दा एमालेको भागमा परेको भन्ने तथ्य सही नभएको बताएका छन्। उनले स्कुल विभाग सुरुदेखि नै विवादमा रहेको बताए।
‘एमालेलाई चार वटा विभाग दिँदा पार्टी स्कुल विभाग पनि दिएको अनि माओवादीलाई अर्थ र प्रचार विभाग दिएको जुन भन्नु भएको छ, त्यो ट्वीस्ट भयो। अर्थ र योजना विभाग एमालेसँगै छ,’ उनले भने, ‘पार्टी स्कुल एमालेको भागमा परेको सत्य होइन। अर्थ र योजना विभाग हामीलाई दिएको कुरा भन्ने पनि सत्य होइन।’
प्रवक्ता श्रेष्ठले चार वटा प्रमुख विभागहरू- सङ्गठन विभाग, विदेश विभाग, नीति तथा अनुसन्धान विभाग तथा अर्थ र योजना विभाग चाहिँ साविकको एमालेसँगै रहेको प्रष्ट पारे। ‘मुख्य ६ वटा भन्ने छैन। चार वटा उहाँहरूले लिनुभएको छ। पार्टी स्कुल विभाग चाहिँ विवादित अवस्थामा छ। यो कुन भागमा राख्ने भन्ने कुरामा पहिल्यै सहमति भएन। त्यो टुंगिएको होइन,’ काठमाडौंप्रेसमा छापिएको समाचारबारे टिप्पणी गर्दै उनले भने, ‘टुङ्गिएको भए यस्तो बेहाल हुन्थ्यो र? त्यो त उहाँहरूले निर्णय गर्नुहुन्थ्यो नि! तपाईंहरूजस्तो साथीहरूले प्रष्टै राखिदिनुभए हुन्थ्यो।’
तथ्यलाई तोडमरोड गरेर लेखेको आरोप लगाउँदै उनले अगाडि भने, ‘तपाईंले लेख्नुभएको कुरा त बुझिएकै छ। हामीचाहिँ अयोग्य, भागशान्ति खोज्न आएका! तपाईंको त त्यही छ। ठीकै छ !? मलाई चाहिँ योग्यहरूको फेभर पनि चाहिएको छैन, भागशान्ति पनि चाहिएको छैन।’
श्रेष्ठले अगाडि थपे, ‘आ-आफ्नै भूमिका खेल्ने हो क्रान्तिमा। पार्टी निर्माणमा। आफ्नो निष्ठा योग्यता अनुसार गर्ने हो। इथिकल साइड चाहिँ कम्युनिष्ट आन्दोलनमा धेरै कमजोर छ। मलाई फोन गरेर चाहिँ 'तपाईंले छोड्नै हुन्न' भन्ने, भोलिपल्ट पत्रिकालाई अर्को कुरा भन्नेहरू पनि यहाँ देखिएका छन् । यस्तो छ कम्युनिष्ट आन्दोलनको नैतिक धरातल।’
आफूलाई ‘अयोग्य’ हुन् भनेर लेखेको आरोप लगाउँदै उनले भने, ‘तपाईंको आर्टिकल त्यही छ। यी अयोग्य हुन्, भागशान्तिले गर्दा हो। ईश्वर (पोखरेल) ले लिने भएपछि यतापट्टि (माओवादीले) मागेको हो भनेर एकदम गलत कुरा लेख्दिनु भो के! यो तथ्य नभएको कुरा आयो।’
नेपालको एकमात्र राजनीतिक गुरु घनश्याम भुसाल हो भनेर काठमाडौंप्रेसले लेखेको आरोप लगाउँदै उनले भने, ‘नेपालको राजनीतिक गुरु नै एकजना घनश्याम भुसाल हो भनेर लेख्नुभएको छ तपाईंले। ल्याङ्ग्वेजै त्यही छ। योग्यहरूलाई नदिई हामी अयोग्यहरूलाई दिनु पनि त भएन नि!’
याे पनि :
नेकपा स्कुल विभाग प्रमुखका लागि योग्य को?
स्कुल विभाग प्रमुखमा योग्य घनश्याम, सम्भावना नारायणकाजीको : झलनाथ खनाल






