Kathmandu Press

यसरी समातिए अस्पतालमा बम राखेर तीन करोड माग्ने युवक

काठमाडौं, भदौ २८ : आँखा अस्पतालमा बम राखेको भनेर तीन करोड फिरौती माग्ने एक युवक पक्राउ परेका छन्।धादिङका आशिष कुँवर काठमाडौंको नयाँ बानेश्वरस्थित...
यसरी समातिए अस्पतालमा बम राखेर तीन करोड माग्ने युवक

काठमाडौं, भदौ २८ : आँखा अस्पतालमा बम राखेको भनेर तीन करोड फिरौती माग्ने एक युवक पक्राउ परेका छन्।

धादिङका आशिष कुँवर काठमाडौंको नयाँ बानेश्वरस्थित मातृका आँखा अस्पतालमा एक महिनाअघि आँखाको उपचार गरेर फर्किएका थिए। अस्पताल राम्रो सञ्चालन भएको देखेपछि उनी र उनका भाइ अभिषेकले अस्पतालबाट पैसा निकाल्नसक्ने अनुमान लगाए। उनीहरूले अस्पतालका चिकित्सकलाई तर्साउँदै फिरौती लिने योजना बनाए।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोही योजनामुताबिक उनीहरूले यही भदौ २४ गते अस्पतालमा बम राखेको भनी तीन करोड फिरौती मागे। चिकित्सकलाई आशिषले बारम्बार फोन गरी अस्पताल र घरमा समेत बम राखी पड्काई अस्पताल र घर परिवारसमेतलाई ध्वस्त पारी दिन्छौँ भनी धम्क्याएका थिए।

अस्पताल र घर परिवार सुरक्षित राख्ने भए तीन करोड तयार गरी नागढुङ्गामा लिइआउनु भनेर तर्साएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए। पछि उनीहरु दुई करोडमा झरेका थिए।

उनीहरुले पैसा लिएर आफ्नो व्यक्तिगत खर्च टार्ने योजना बनाएको अनुसन्धानमा खुलेको सिंहले बताए। यद्यपि उनीहरुले विदेश जाने खर्चको जोहो गर्न फिरौती माग गरेको बुझिएको छ। आशिष विदेश जाने तयारीमा समेत रहेको बताइएको छ।

उनीहरुले राखेको बम नेपाली सेनाले यसअघि नै निष्क्रिय बनाएको थियो। यद्यपि त्यो सक्कली हो या नक्कली भनेर सेनाले रिपोर्ट दिइनसकेको सिंहले बताए।

बम राखेको सूचना प्रहरीमा आएपछि परिसरले प्रहरी उपरीक्षकको नेतृत्वमा टोली परिचालन गरेको थियो। फिरौती रकम दिन तयार भएर प्रहरीले मिसन अपरेसन सुरु ग¥यो।

उनीहरुलाई पक्राउ गर्नु अगाडि नै योजना बनाएको प्रहरीले फिरौती दिन जाने बहानामा दाजुभाइलाई पक्राउ गर्न सफल भएको थियो।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाडौँ बस्ने २५ वर्षका आशिष र उनका भाइ अभिषेक पक्राउ परे। उनीहरुको बयानका आधारमा रोल्पाका ४० वर्षीय अम्मरबहादुर रोक्का पनि पक्राउ परेको प्रहरीले प्रहरीले जनाएको छ।

उनीहरुलाई अहिले आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा म्याद थप गरी थप अनुसन्धान थालेको परिसरले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०६:४३ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्