Kathmandu Press

मनसुनी विपदमा एक सय ११ को मृत्यु, ४० बेपत्ता

काठमाडौं, साउन १० : मनसुनपछिको विपद्का कारण मुलुकभर एक सय ११ जनाको मृत्यु भएको छ।

गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले....

मनसुनी विपदमा एक सय ११ को मृत्यु, ४० बेपत्ता
काठमाडौं प्रेस

काठमाडौं, साउन १० : मनसुनपछिको विपद्का कारण मुलुकभर एक सय ११ जनाको मृत्यु भएको छ।

गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन्भ। यो अवधिमा ६७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन्। यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले बताए।

उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन्। पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन्। अहिलेसम्म बाढीबाट एक सय २८ घटना भएका छन भने भने पहिरोका दुई सय आठ घटना भएको केन्द्रले जनाएको छ।

बाढीबाट ३१ जना तथा पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट एक अर्बभन्दा बढीको क्षति भएको केन्द्रले जनाएको छ।

यस्तै पहिरोबाट दुई करोडभन्दा बढीको क्षति भएको छ। बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएका छन्। सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन्।

सिराहामा सात र ललितपुरमा ६ जनाले ज्यान गुमाएको केन्द्रले जनाएको छ। सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा पाँच/पाँच तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा चार/चार जनाले ज्यान गुमाएका छन्।

बाढीपहिरोमा परेर काठमाडौँ, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा तीन÷तीन, सुनसरी, धादिङ, दाङ र बारामा दुई/दुई जनाको ज्यान गएको छ।

उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एक/एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ।

बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन्। डोल्पामा सात र लमजुङमा ६ जना बेपत्ता छन्।

त्यस्तै, सिन्धुलीमा चार, इलाम र मोरङमा तीन/तीन, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा दुई/दुई जना बेपत्ता छन्। झापा, सुनसरी, काठमाडौं, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्जनपुरमा एक/एक जना वेपत्ता भएको केन्द्रले जनाएको छ।

बाढी र पहिरोमा परेर ६७ जना घाइते भएका छन्। पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका छन्। भारी वर्षाका कारण १७ जना घाइते भएका छन्।

केन्द्रका अनुसार, मकवानपुर र लमजुङमा आठ÷आठ तथा  काठमाडौँ, सिराहा र रौतहटमा पाँच/पाँच जना घाइते भएका छन्। मोरङ, सुनसरी, खोटाङ, सर्लाही, रामेछाप, भक्तपुर, धादिङ, पर्सा, स्याङ्जा, पाल्पा, सुर्खेत र  जाजरकोटमा एक/एक जना घाइते भएका छन्।

झापा, भोजपुर, महोत्तरी, सिन्धुपाल्चोक, काभ्रे र गुल्मीमा दुई/दुई जना तथा धनकुटा, उदयपुर, सिन्धुली र दोलखामा तीन/तीन जना घाइते भएका छन्।

प्रकाशित मिति: १०:१८ बजे, शुक्रबार, साउन १०, २०७६