रोजगारीमा इजरायल जानेका लागि भोलि भाषा परीक्षा, तोकिए ११ परीक्षा केन्द्र
काठमाडौं, भदौ २७ : दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि इजरायल जान चाहानेहरु आवेदकका लागि भोलि भाषा परीक्षा हुने भएको छ ।११ वटा केन्द्रमा...
काठमाडौं, भदौ २७ : दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि इजरायल जान चाहानेहरु आवेदकका लागि भोलि भाषा परीक्षा हुने भएको छ ।
११ वटा केन्द्रमा भाषा परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलमा रोजगारीका लागि ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये २ हजार ६ सय ९६ जनाको आवेदन अस्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । सोमबार हुने परीक्षामा ७ हजार ३ जनाले सहभागी हुन पाउने भएका छन्।
विभागले अनलाइन आवेदन परेकामध्ये कतिपयको तोकिएको मापदण्ड तथा योग्यता नपुगेकाले आवेदन अस्वीकृत गरेको जनाएको छ। वैदेशिक रोजगारअन्तर्गत नेपाल र इजरायलबीच सम्झौता भएबमोजिम रोजगारीमा पठाउन यही भदौ २८ गते लिखित भाषा परीक्षा हुँदैछ। प्राप्तांकका आधारमा १ हजार ६ सय जना छानेर त्यसपछि अर्को चरणमा २० अंकको शारीरिक परीक्षण तथा अन्तर्वार्ता हुने छ।
तीमध्ये १ हजार ४ सय जना मात्र गोला प्रथामा छानिने भएका छन्। छानिएकाको गोला प्रथा नेपालस्थित इजरायली दूतावासले गर्नेछ। गोलाप्रथाबाट छानिने हुँदा ४ सय जनाले इजरायल रोजगारीको अवसर नपाउने विभागले जनाएको छ।












