ओलीसँग एकता गर्दा ज्ञान पाएँ, जसले गर्दा अहिलेको गठबन्धन बन्यो : प्रचण्ड
काठमाडौं, भदौ २७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरुका कम्युनिस्ट नेता गोन्जागोको निधनसँगै क्रान्तिको एउटा मोडेल अन्त्य भएको बताए।आइतबार पार्टीका केन्द्रीय...
काठमाडौं, भदौ २७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरुका कम्युनिस्ट नेता गोन्जालोको निधनसँगै क्रान्तिको एउटा मोडेल अन्त्य भएको बताए।
आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङको ‘नेपाली कम्युनिस्टको कार्यदिशा’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गोन्जालोको रिहाइको निम्ति नेपालका कम्युनिस्टले पनि पहल गरेको तर त्यसको प्रभाव रिहाइको स्तरमा नपुगेको बताए।
प्रचण्डले केपी ओलीसँग पार्टी एकता गरे धेरै ज्ञान ज्ञान प्राप्त गरेको र त्यो सुनाउन चारपाँच घन्टा समय लाग्ने बताए। पाँच दलीय गठबन्धनको बैठकमा आफूलाई ताकेर केपी ओलीसँग पार्टी एकता गरेर के पाइयो भनी प्रश्न आएको पनि उनले सुनाए।
ओलीसँग एकता गरेपछि प्राप्त ज्ञानकै कारण सत्ता गठबन्धन गर्ने सोच अघि बढेको भनी नेताहरूलाई आफूले जवाफ दिएको उनको भनाइ थियो।
प्रचण्डले आफू कम्युनिस्ट आन्दोलनको पाठशाला भएको दाबी गरे। आफ्नो अनुभवबाट पनि धेरै सिक्न सकिने उनले बताए।
प्रचण्डले अहिले संसारमै विचार र राजनीतिको समस्या, नयाँ वैचारिक संश्लेषणको समस्या देखिएको उल्लेख गरे। अब राजनीतिको क्षेत्रमा सुव्यवस्थित वस्तुवादी वैज्ञानिक संश्लेषण आवश्यक रहेको उनको भनाइ थियो।











