Kathmandu Press

भन्सार बिन्दुमा भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

भन्सार बिन्दुमा भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, भदौ २७ : अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशीघ्र सवारीसाधनको परीक्षण गर्ने ‘भेइकल स्क्यानर’ जडान गर्न निर्देशन दिएका छन्।

भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आज सम्बोधन गर्दै उनले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन्। सो प्रणाली जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारीसाधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन। उनले मालवस्तुको वर्गीकरण र मूल्याङ्कनमा इमान्दारिता कायम गरी राजस्व सङ्कलन वृद्धि गर्न कर्मचारीलाई आग्रह गरे।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गरे। सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा उनले जोड दिए। उनले सरूवाका लागि कुनै पनि दल, नेता वा सङ्गठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिए।

उनले सरूवाका लागि फोन गराई दबाब सृजना गर्ने कर्मचारीको माग सुनुवाइ नहुने स्पष्ट पारे। ‘त्यसरी फोन सोर्सफोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाइज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन त्यो आफै बुझ्नुहुन्छ’, उनले भने।

राजस्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए। उनले सेवाग्राहीका गुनासालाई तत्काल सम्बोधन गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए।

नेपाल उद्योग वाणिज्य महासङघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएकामा सरकारलाई धन्यवाद दिए। उनले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाव समेटिएको भन्दै खुसी व्यक्त गरे।

उनले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न कच्चापदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा जोड दिए। भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले लक्षअनुसारको राजस्व सङ्कलन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले सदाचारलाई शिरमा तथा राष्ट्रहितलाई छातीमा राखेर काम गर्न मातहतका कार्यालय प्रमुख तथा कर्मचारीलाई निर्देशन दिए। 

प्रकाशित मिति: १५:५० बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्