Kathmandu Press

कांग्रेस बैठकमा १४ औं महाधिवेशनबारे छलफल सुरू 

काठमाडौं, साउन ९ : नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशनबारे औपचारिक रुपमा छलफल सुरु गरेको छ। 

बिहीबारबाट पार्टी कार्या....

कांग्रेस बैठकमा १४ औं महाधिवेशनबारे छलफल सुरू 
रिवाज राई

काठमाडौं, साउन ९ : नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशनबारे औपचारिक रुपमा छलफल सुरु गरेको छ। 

बिहीबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकमा १४ औं महाधिवेशनबारे छलफल सुरु भएको हो। बैठकमा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने व्यवस्थासहितको विधान मस्यौदामाथि छलफल सुरु प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सन्दर्भमा बैठकमा छलफल प्रारम्भ भएको शर्माले बताए। बैठकमा महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने व्यवस्थासहितको विधान मस्यौदाको प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका हुन्।

प्रस्तामाथि बिहीबारको बैठकमा उपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्यहरू महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ-आफ्ना धारणा राखेका छन्।

कांग्रेसको गत असार २२ गतेबाट सुरु भएको केन्द्रिय कार्यसमिति बैठकले यसअघि नै पार्टीको  नियमावली पारित गरिसकेको छ। बिहीबारदेखि फेरि सुरु भएको बैठकमा पार्टीको आसन्न महाधिवेशनको कार्ययोजना तय गरी प्रक्रिया अघि बढाउने विषय प्रवेश गराइएको छ।

१४ वटा एजेन्डा तय गरी जारी केन्द्रिय कार्य समिति बैठकमा पार्टीको विभाग, निकाय, भातृ संगठनहरुलाई पूर्णता दिने विषयमा पनि छलफल हुनेछ। बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्नेछ । 

प्रकाशित मिति: १८:२९ बजे, बिहीबार, साउन ९, २०७६