संसदीय मर्यादामा बसेर विरोध गर्न एमाले अध्यक्ष ओलीको निर्देशन
काठमाडौं, भदौ २७ : एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सांसदहरूलाई पार्टीद्वारा तोकिएका नारा मात्र लगाउन र संसदीय मर्यादामा बसेर विरोध...
काठमाडौं, भदौ २७ : एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सांसदहरूलाई पार्टीद्वारा तोकिएका नारा मात्र लगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न निर्देशन दिएका छन्।
आज (आइतबार) संसदीय दलको बैठकमा सांसदहरूलाई निर्देशन दिँदै उनले भने, ‘हामी वेलमा जान्छौं। नारा लगाउँछौं। सामान्य अवस्था आयो भने बिस्तारै नारा लगाउने, अलिकति बढी एग्रेसिभ भएर सभामुख वा सत्तापक्ष आउँदा चर्को आवाजमा लगाउने हुन सक्छ। तर हामीले नारा लगाउने र वेलमा जानेभन्दा बाहिर जानुहुँदैन।’
शुक्रबार प्रतिस्थापन विधेयक पेस गर्ने क्रममा एमाले सांसदहरुले रोस्ट्रममा चढ्ने प्रयास गरेका थिए। उनीहरूले गृहमन्त्रीको माइकसमेत खोसेका थिए। यस घटनाको चर्को विरोध भएको थियो।
ओलीले सभामुखलाई माइक हान्ने आफूहरुको कुनै योजना नभएको पनि स्पष्ट पारेका छन्। ‘माइक हान्ने योजना थिएन, नभएको कुरा बोल्नुहुँदैन’, उनले भने।
उनले सभामुख अग्नि सापकोटालाई सभामुखको कुर्सीमा बस्न लायक नभएको भनी टिप्पणी पनि गरेका छन्। प्रमुख प्रतिपक्षी दल एमाले फुटाउन सभामुखको ‘षड्यन्त्रपूर्ण संलग्नता रहेको आरोप लगाउँदै ओलीले संसद्को गरिँदै आएको अवरोध कायम राख्ने पनि बताएका छन्।











