प्रदेश २ मा मास्क नलगाउनेले सरकारी सेवा नपाउने

जनकपुरधाम, भदौ २७ : अबदेखि प्रदेश २ मा मास्क नलगाउनेले सरकारी सेवा नपाउने भएको छ।
प्रदेश–२ सरकारले ‘नो मास्क, नो सर्भिस’ अभियान जारी गर्दै मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने बताएसँगै मास्क अनिवार्य लगाउनैपर्ने स्थिति आएको छ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको आज (आइतबार) बसेको बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय गर्दै मास्कको प्रयोग नगर्नेलाई सरकारी सेवा नदिने निर्णय गरेको हो।
बैठकमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।
कोरोना संक्रमितको संख्यामा कमी आएको निष्कर्ष निकाल्दै बैठकले सर्वसाधारणले मास्कको प्रयोगमा बेवास्ता गरिरहेकाले यो अभियान चलाउने निर्णय भएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरकारले मास्क प्रयोगबारे सर्वसाधारणलाई सचेत गराउन विभिन्न सञ्चारमाध्यममा जनचेतनामूलक विज्ञापन प्रकाशन तथा प्रसारण गराउने निर्णय समेत गरेको छ।











