सरकारका प्रवक्ताले भने– प्रधानमन्त्री ओलीले रअका प्रमुखलाई भेट्नु भएको छैन
काठमाडौं, साउन ९ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था (....
काठमाडौं, साउन ९ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था (रअ)का प्रमुख सामन्त गोयलसँग नभेटेको स्पष्ट पारेका छन्।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले प्रधानमन्त्री ओलीले रअका प्रमुख गोयललाई भेटेको कुरा बाहिर आएजस्तो सत्य नभएको स्पष्ट पारेका हुन्।
‘प्रधानमन्त्री ओलीले रअका प्रमुखलाई भेट्नु भएको छैन,’ उनले भने,‘रअका प्रमुख नेपाल आएको हामीलाई थाहा छैन।’ उनले केही सञ्चारमाध्यमहरुले प्रधानमन्त्री ओलीले रअका प्रमुखसँग भेटेको भनेर अफवाह फैलाउन खोजेको आरोप लगाए।
‘हामीलाई रअका प्रमुख आएकोबारे थाहा छैन। र, प्रधानमन्त्रीले भेटेको पनि थाहा छैन,’ बाँस्कोटाले भने,‘मुलधारका पत्रकार र मिडिया कुहिरिमण्डलमा नरमाएकै राम्रो।’ उनले को–कोलाई रअका प्रमुख भेट्ने वाणी लागेको छ उनीहरुले भेट्नु सामान्य भएको टिप्पणी गरे।
उनले सरकारलाई जानकारी गराएर आउने विदेशसचिव, संवैधानिक निकायका र राजनीतिक नेतृत्वका जोसुके व्यक्तिसँग भने भेट हुन सक्ने बताए। ‘जो जानकारी गराएर औपचारिकरुपमा भ्रमणमा आउँछन् र भेटका लागि समय मागेका हुन्छन्। उनीहरुसँग भेट हुन्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले रअका प्रमुखलाई नभेटेको स्पष्ट पार्दै उनले भने,‘रअका प्रमुखलाई भेटेर कोही पनि रअको पक्षधर हुँदैन होला नी। तर, भेट्ने काम भएको छैन।’
उनले सही र तथ्यमा आधारित भएर समाचार लेख्न आग्रह पनि गरे।
भारतीय गुप्तचरसंस्था ‘रअ’ प्रमुख सामन्त गोयल अघिल्लो साता नेपाल आएका थिए। तीन दिने नेपाल भ्रमणमा आएका गोयलले पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार भेटवार्ता गरेका थिए।






