सरकारका कामलाई प्रभावकारी बनाउन आवश्यकः प्रचण्ड
काठमाडौं, साउन ९ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम, कारबाहीलाई अझै प्रभावकारी बनाएर ल....

काठमाडौं, साउन ९ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम, कारबाहीलाई अझै प्रभावकारी बनाएर लैजाने संकल्प गर्नु पर्नेमा जोड दिएका छन्।
बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकतालाई सदृढ बनाउन र सरकारको काम, कारबाहीलाई अझ प्रभावकारी बनाउन संकल्प गर्न पनि पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरे।
उनले पार्टी संगठन र सरकारको काम कारबाहीलाई प्रभावकारी बनाएर नेपालमा समाजवादको विकास गरी दुनियाँलाई एउटा नयाँ मोडल दिने संकल्प गर्नुपर्ने पनि स्पष्ट पारे। प्रचण्डले सरकारको कामलाई अझ प्रभावकारी बनाउने प्रयासलाई निरन्तरता दिइएको पनि बताए।
दुई पार्टीबीच एकता गरेर असाधारण उपलब्धि हासिल गरेको उल्लेख गर्दै प्रचण्डले त्यसबारे जनतालाई जानकारी गराउन आगामी भदौबाट राष्ट्रिय अभियान सञ्चालन गर्ने पनि घोषणा गरे। त्यसका लागि आवश्यक योजना तय गर्न साउन महिनाभित्रै पार्टी केन्द्रिय समिति र स्थायी समिति बैठक बोलाउने उनले बताए।
प्रचण्डले पार्टीको राष्ट्रिय अभियानको क्रममा पार्टीका नीति तथा कार्यक्रम र सरकारको काम कारबाहीबारे जनतालाई जानकारी गराउने पनि स्पष्ट पारे। उनले सामाजिक न्यायसहितको समृद्धिका लागि आफ्नो पार्टीले काम गरिरहेको दाबी गरे।

-1784896419.png)









