Kathmandu Press

गोरखाको ओढारमा भेटियो १६ किलो सुन

गोरखा, साउन ९ : गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेँसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ।

चुमनुब्री गाउँपालिका हुलचुकका....

 गोरखाको ओढारमा भेटियो १६ किलो सुन

गोरखा, साउन ९ : गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेँसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ।

चुमनुब्री गाउँपालिका हुलचुकका व्यवसायी धनकमल गुरुङले मनास्लु पदमार्ग नजिकै ओढारको ढुङ्गामुनि लुकाएर राखेको अवस्थामा १२ ढिक्का (करिब १६ किलो) सुन गए राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले बताए।

‘यति नै किलो छ भनेर भन्ने अवस्था छैन,’ उनले भने, ‘शङ्कास्पद मान्छे समातेर ल्याउँदैछौं, थप अनुसन्धान भइरहेको छ।’

असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सिमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा बेपत्ता भएका भनिएका धनकुमार गुरुङले नै सुन ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ। उनलाई हिजो  काठमाडौँमा पक्राउ गरिएको थियो ।

धनकुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उनले बताए।

खच्चडसहित झर्दै गर्दा धनकुमारमाथि सँगै आएका चार जनाको समूहले आक्रमणको प्रयास गरेको र सोही घटनापछि उनी भागेका थिए।

अपहरणमा परेको भनेर हल्ला गरिएको भए पनि धनकुमार भागेको हुनसक्ने प्रहरीको अनुमान थियो। त्यही आधारमा प्रहरीले उनको खोजी जारी राखेको थियो। उनलाई हिजो काठमाडौंबाट पक्राउ गरिएको थियो।
उनी पक्राउ परेपछि ओढारबाट सुन बरामद गरिएको हो।

प्रकाशित मिति: १४:३० बजे, बिहीबार, साउन ९, २०७६