‘तेजबहादुरलाई मारेको देखेपछि प्रमाण मेटाउन सबैलाई मारियो’
काठमाडौं, भदौ २६ : संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले प्रारम्भिक...
काठमाडौं, भदौ २६ : संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले प्रारम्भिक बयान छन्।
हत्या गरिएका ५७ वर्षीय वर्षीय तेजबहादुर कार्कीका भतिजासमेत रहेका २६ वर्षीय लोकबहादुरले व्यक्तिगत रिसिइबीका कारण उक्त हत्याकाण्ड गरेको अनुसन्धानबाट खुलेको जनाइएको छ। लोकबहादुरले आफूले तेजबहादुरको हेपाइ सहन नसकेको र आवेगमा आएर हत्या गरेको बयान प्रहरीसमक्ष दिएको बताइएको छ।
उक्त हत्याकाण्डमा तेजबहादुरसहित उनकी ५८ वर्षीया पत्नी मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, १० वर्षीय नाति विपिन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका थिए।
सोमबार बिहानै धान गोड्ने खेताला खोज्न हिँडेका तेजबहादुरलाई बाटोमा कुरेर बसेका पछाडिबाट टाउकोमा हानेर हत्या गरेको र उनको हत्याको दृश्य परिवारका अन्य सदस्यले देखेपछि प्रमाण मेटाउन अरुलाई पनि मार्न बाध्य भएको बयान लोकबहादुरले प्रहरीसमक्ष दिएको बताइएको छ। प्रहरीका अनुसार लोकबहादुर एक वर्षदेखि मानसिक रोगी रहेका छन्।
उक्त हत्या प्रकरणबारे अनुसन्धान गर्न प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल मादी पुगेको थियो।
आइतबार पत्रकार सम्मेलन गरेर हत्या प्रकरण र लोकबहादुरले दिएको बयानबारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।











