एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजे फेरि बस्ने

काठमाडौं, भदौ २६ : एमाले स्थायी कमिटी बैठक आज (शनिबार) दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ।
ललितपुरको च्यासलस्थित तुलसीलाल समृति भवनमा आज बिहान बसेको बैठकमा आगामी असोज ४ देखि ६ गतेसम्म हुने विधान महाधिवेशन सहभागी हुने प्रतिनिधिबारे छलफल गरिएको एमाले नेता एवं पार्टी प्रचार विभाग प्रमुख योगश भट्टराईले बताए।
उनका अनुसार विधान अधिवेशनको प्रतिवेदन, राजनीतिक प्रस्ताव, सांगठनिक प्रतिवेदन प्रस्तावबारे बैठकमा छलफल भएको थियो। विधान महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी गराउने विषयमा पनि छलफल भएको छ। तर अधिवेशनमा कसकसले भाग लिने भन्ने विषयमा कुनै निर्णय हुन सकेको छैन।
त्यसका लागि दिउँसो ३ बजे पुनः बैठक बोलाइएको नेता भट्टराईले बताए। विधान महाअधिवेशनमा हालको केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी गराउने प्रस्ताव पार्टी संगठन विभागले राखेको उनको भनाइ छ।
दिउँसोको बैठकमा विधान अधिवेशनमा पेस गर्ने राजनीतिक, संगठनिक र विधानसम्बन्धी दस्तावेजमाथि पनि छलफल हुने बताइएको छ।











